भेडीगोठमै बित्यो जीवन !

बेनी: हरियाली लेकाली खर्क । आँखै अगाडि ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा ससाना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरन क्षेत्रमा सेताम्मे देखिन्छन् भेडाका बथान ।

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको खयरखोला क्षेत्रमा देखिने यो दृश्य निकै रमाइलो र लोभलाग्दो देखिन्छ । खोप्रा–खयर पदमार्गअन्तर्गत पर्यटक आश्रय लिएर बस्ने खयरखोला क्षेत्रमा व्यावसायिक भेडापालन पनि हुँदै आएको छ । यिनै गोठमा भेटिन्छन् ७८ वर्षीय लालवीर तिलिजा ।

पाउद्वार गाउँका बासिन्दा रहेका तिलिजाले भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताए। उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर तिलिजाको जाँगर घटेको छैन । भेडीगोठसँगको उनको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा सङ्घर्षमय तरिकाले रमाएका तिलिजा बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाक्नुभएको छैन ।

बेंशीका फाँटदेखि पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म भेडीगोठ राख्ने र भेडा चराउने काममा तिलिजाको जीवनको करिब ७० वर्ष बढी समय बित्यो । छ वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बस्नुभएका तिलिजालाई औपचारिक शिक्षा लिने अवसर मिलेन । बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको तिलिजाले बताए। “मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन गर्यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, उनीहरुको रहरअनुसारको देशमा रोजगारको लागि पठाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु”, तिलिजाले भने ।

भेडापालनबाटै कमाएको पैसाले साइला छोरा जापान, जेठा छोरा बेलायत पठाएको तिलिजाले सुनाए। “चार छोरा, पाँच छोरी छन्, उनीहरु सबैलाई विद्यालय तहको शिक्षा दिएँ, उनीहरुकै इच्छाअनुसार कतिपयलाई लाखौँ खर्च गरेर विदेश पनि पठाएँ, उनीहरुले र मैले कमाएको पैसाबाट पोखरामा घर पनि जोडेको छु, श्रीमती र कान्छा छोरा अहिले पोखरा बस्छन्, माइला छोराले वडाध्यक्ष जितेर गाउँको नेतृत्व सम्हालेका छन्”, उनले पारिवारिक अवस्था सुनाए ।

तिलिजाको गोठमा अहिले करिब तीन सय भेडा छन् । गोठको खर्च र हेरालुको ज्याला कटाउँदा वर्षमा रु १० देखि ११ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । उत्पादन गर्न सके बिक्रीका लागि बजारको अभाव नभएको उनको भनाइ छ ।

“जनैपूर्णिमालगायतका पर्वमा पूजाका लागि साँडहरु किन्न ग्राहक गोठमै आउँछन्, चाडपर्वको लागि मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन्, बरु किन्नेले खोजेजति बिक्री गर्ने भेडा उत्पादन गर्न नै सक्दैनौँ”, तिलिजाले भने ।

गोठका उकाली ओरालीमा सात दशक समय बिताएका तिलिजालाई भेडीगोठ बस्ने धित अझै मरेको छैन् । भर्ती हुने र लाहुर जाने सपनामा केही वर्ष भेडीगोठबाट बाहिरिए पनि सफल नभएपछि पुनःभेडापालनमै फर्किएको उनले बताए । “एक गोठको भेडाको पैसा दलालले खाइदियो, त्यतिबेला रु ८६ हजारमा भेडीगोठ बेचेको थिएँ, बम्बइसम्म पुर्याएर दलालले सबै पैसा खाइदियो, १० महिना त्यहाँ बस्दा पनि विदेश पठाउने निधो नभएपछि फेरि गाउँ फर्किएँ र भेडापालनकै इलममा लागेँ”, तिलिजाले आफ्नो सङ्घर्षका उतारचढाव सुनाए ।

विदेशमा रहेका छोराछोरीले गोठबाट विश्राम लिएर आरामदायी जीवनयापन गर्न सुझाव दिने गरेको बताउँदै उनले आफ्नो हातपाखुरा चल्दासम्म गोठ छाड्न मन नलागेको बताए। तिलिजाले बर्खायाममा खयरखोला हुँदै अन्नपूर्ण हिमाल र बराह शिखर हिमालको फेदीसम्मै भेडीगोठ पुर्याउने भएपनि हिउँदयाममा खोप्राडाँडा हुँदै पाउद्वार र पर्वतको लेसपारका बेंशीका फाँटसम्म गोठ झार्ने गर्नुभएको छ । “बाघ र चट्याङको डर भेडीगोठमा भइरहन्छ, केही वर्षअघि चट्याङ लागेर एकैपटक ६२ वटा भेडा मरे, बाघले वर्षमा एक-दुई वटा भेडा खान्छ, भेडीगोठको सुरक्षामा हामी गोठालासँगै कुकुर हेरालुकै भूमिकामा हुन्छन्”, उनले भने ।

चार पुस्ताले गर्दै आएको भेडापालन आफूपछिको पुस्ताले छाड्ने चिन्ता तिलिजामा छ । तर अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्षसमेत रहनुभएका तिलिजाका छोरा राजेश तिलिजाले बुबाले गर्दै आएको भेडापालनलाई आफूले पनि निरन्तरता दिने सोच बनाएको बताए । “अघिल्लोपटक वडा सदस्य र कार्यवाहक वडाध्यक्ष भएर काम गरेँ, यो कार्यकालमा वडाध्यक्षमा निर्वाचित भएर काम गरिरहेको छु, जनप्रतिनिधिको भूमिकाबाट बाहिर आएपछि भेडापालनलाई नै अगाडि बढाउने योजना बनाएको छु”, वडाध्यक्ष तिलिजाले भने । बुबालाई भेडापालनबाट विश्राम लिन सुझाव दिए पनि उनले भेडीगोठमै आफूलाई आनन्द रहेको बताउँदै पारिवारिक आग्रहलाई इन्कार गर्ने गरेको उनले बताए ।

पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उनले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाए। खयर क्षेत्रमा भेडापालनको सम्भावना रहेको बताउँदै वडाध्यक्ष तिलिजाले पछिल्लो समय केही युवा यस पेसामा आबद्ध हुन थालेको जानकारी दिए ।

पाउद्वार गाउँका २१ वर्षीय युवा प्रकाश पुन एक वर्षदेखि भेडापालनका लागि भेडीगोठ बस्न थालका छन् । शिख माविबाट कक्षा १२ उत्तीर्ण गरेपछि दुई वर्ष भैँसीपालन गरेका पुनले एक वर्षदेखि साझेदारीमा भेडापालन गर्न थालेका हुन् । स्थानीय कमल तिलिजा र कुमार पाइजासँग पुनले खयर क्षेत्रमा साझेदारीमा भेडापालन गरेका छन्। “हाम्रो गोठमा तीन सय भेडा छन्, भेडा र साँड उत्पादन गर्न सके जति पनि बिक्री हुन्छ, म भर्खरै यो पेसामा लागेको हुँ, अझै आम्दानी गर्ने अवस्था आइपुगेको छैन, अरु साथीहरुले एकै पटकमा तीन-चार लाख रुपैयाँको भेडा बिक्री गर्नुहुन्छ”, पुनले भने ।

पुनका साथि कमलले नौ वर्षदेखि र कुमारले तीन वर्षदेखि भेडापालन गर्दै आएका छन् । अरुको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउन मन लागेर भेडापालनमा लागेको पुनले बताए । अहिले खयर क्षेत्रमा तीन वटा ठूला गोठ छन् । ती भेडीगोठमा करिब एक दर्जन घरपरिवारले साझेदारीमा भेडापालन गर्छन् । एक हजार पाँच सयवटा भेडापालन हुँदै आएको खयर क्षेत्रमा भेडापालन गर्दै आएका स्थानीयले जनैपूर्णिमाको अवसरमा मात्रै १० देखि ७० वटासम्म भेडा र साँड बिक्री गर्दै आएका छन् ।

यसपटकको जनैपूर्णिमा मेलामा मात्रै स्थानीय भेडापालक कृषकले दुई सय ५० बढी भेडाका साँडको बिक्री गरेका थिए । खयर क्षेत्रमा अन्नपूर्ण गाउँपालिका–१ दोबाका धन पुर्जालेसमेत वैदेशिक रोजगारलाई त्योगेर भेडापालन सुरु गरेका छन् । बाह्र वर्षसम्म विदेशमा पसिना बगाएका पुर्जाले तीन महिनादेखि १७२ वटा भेडा खरिद गरेर व्यावसायिक भेडापालन सुरु गरेका हुन् । ‘‘पहिले पनि गाउँमा पुख्र्यौली भेडापालन गर्थे, भेडीगोठ बेचेर साउदी गएँ, त्यहाँबाट फर्किएपछि मलेसियामा पनि गएँ, तर सोचेजस्तो कमाइ भएन, बरु यतै केही गरौँ भनेर भेडापालन पेसामै फर्किएको पुर्जाले भने ।

हिमाली क्षेत्रमा पालन गरिएका भेडाको खरिदका लागि सहरी र ग्रामीण क्षेत्रका उपभोक्ता गोठसम्म पुग्ने गरेका छन् । विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेको अन्नपूर्ण गाउँपालिका–८ नाँगीका हेमबहादुर तिलिजा पुनले बताए ।
यस क्षेत्रमा घुम्ती गोठकारुपमा भेडापालन हुँदै आएको छ । खासगरी लेकाली क्षेत्रको चरनमा हुर्कने भएकाले मासुका लागि भेगीगोठका भेडाको माग अत्यधिक हुने गरेको छ ।

परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments