अनुदानले २० हेक्टर क्षेत्रफल सिञ्चित

सिँचाइ

डुम्रे:सिँचाइको अभावमा तनहुँका धेरै खेतीयोग्य जमिन बाँझो रहेका छन् । खेतीयोग्य जमिनको उपभोग गर्नुपर्छ भन्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरी उपयोग तथा त्यस्ता जग्गाको सदुपयोगमा जोड दिएको छ ।

सोहीअनुरुप प्रदेश सरकारले प्रदेश सर्शत अनुदानअन्तर्गत साना सिँचाइ कार्यक्रमले तनहुँमा सिञ्चित क्षेत्र बढाएको छ । तनहुँको म्याग्दे गाउँपालिका–७ पयर राधेटारीस्थित पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिले कृषि ज्ञान केन्द्रमार्फत पाएको अनुदानबाट खेतीयोग्य भूमि बढाएको छ ।

केही क्षेत्रफलका लागि मात्रै सिँचाइ हुने क्षेत्र अहिले ज्ञान केन्द्रको साना सिँचाइ कार्यक्रमअन्तर्गतको अनुदानले यस क्षेत्रको उब्जनी बढेको पयर राधेटारी सिँचाइ जल उपभोक्ता समितिका संयोजक चतुरबहादुर नेपालीले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रका ३५ घरधुरीको समूहले मात्रै सिँचाइ गरेको अनुदान रकमले कुलो निर्माण गरी सिञ्चित क्षेत्र बढाएको छ ।
ज्ञान केन्द्रबाट रु एक लाख ८७ हजार दुई सय ७० अनुदान पाएको नेपालीले जानकारी दिनुभयो । “साठी मिटर कुलो बनाएर ल्याएको सिँचाइबाट त्यस क्षेत्रमा दुई खेती धान, आलु, मकैखेती गरिँदै आएको छ, उक्त नहरको सिँचाइले ६५ घरधुरी लाभान्वित भएका छन्”, नेपालीले भन्नुभयो । पक्की कुलो निर्माण गरिए पनि त्यस क्षेत्रमा अझै पानी अपुग रहेको र रकम अपुग भएको उहाँले बताउनुभयो ।

“सिँचाइ भएपछि जग्गा खाली छैन, हामीलाई सहज भएको छ, अपुग भएकाले माग गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो । यस समितिले जस्तै भानु नगरपालिका–५ बिरुवास्थित १५ घरधुरीको चुँदी बिरुवा कृषक समूहले पनि ज्ञान केन्द्रबाट अनुदान लिएर सिँचाइ अभाव रहेको खेतीयोग्य भूमिलाई सिञ्चित बनाएको छ । यस समूहले पाएको अनुदानले करिब दुई घण्टा टाढाबाट पानी ल्याएर सिञ्चित क्षेत्र बढाएको चुँदी बिरुवा कृषक समूहका अध्यक्ष प्रेमजङ्ग अधिकारीले बताउनुभयो ।

सिँचाइ हुन थालेपछि यस क्षेत्रमा उत्पादन वृद्धि भएको उहाँ बताउनुहुन्छ । “पन्ध्र जनाको समूह बनेर लिएको अनुदानले यहाँ सिँचाइले उत्पादन वृद्धि भएको छ, बाह्रै महिना विभिन्न प्रकारका उत्पादन लिन सकेका छौँ, सिँचाइ भएपछि यहाँ दुई पटक धानखेती, आलुखेती, मकैखेती, तोरी, गहुँ, मुसुरो खेतीबाट उत्पादन लिन सकिएको छ”, अधिकारीले भन्नुभयो ।

त्यस्तै व्यास नगरपालिका–८ बर्लाचीस्थित ३४ घरधुरीको ओझा डिही कुलो उपभोक्ता समूहले पनि ज्ञान केन्द्रबाट अनुदान लिएर सिँचाइ क्षेत्र बढाएको छ । यस समूहले रिस्ती खोलाको पानी पाँच सय मिटरको दूरीबाट ल्याइएको ओझा डिही कुलो उपभोक्ता समूहका अध्यक्ष कृष्णप्रसाद ओझाले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रबाट रु एक लाख ८८ हजार नौ सय दुई अनुदान पाएको थियो । अनुदान रकमले १९ मिटर दूरीको कुलो निर्माण गरिएको छ । त्यससँगै ठाडो खोला जडित रहेकाले अझै कुलो निर्माणका लागि रकम अभाव रहेको उहाँ बताउनुहुन्छ ।

बाँध निर्माणका लागि अझै रु चार लाख अभाव रहेको उहाँ बताउनुहुन्छ । ठाडो खोलाबाट सुरक्षित बनाएर सिँचाइ गर्नुपर्ने भएकाले अझै कुलोका लागि रकम अभाव रहेको अध्यक्ष ओझाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले साना सिँचाइ कार्यक्रमअन्तर्गतको अनुदानले जिल्लाको २० हेक्टर क्षेत्रफल सिञ्चित भएको जानकारी दिनुभयो । उहाँले अनुदानले जिल्लाको खेतीयोग्य जमिन बढाउन सहयोग पुगेको बताउनुभयो । सिँचाइको अभावले खेती गर्न नपाइएको भूमिमा अहिले खेती भइरहेको उहाँ बताउनुहुन्छ ।

४४ लाख सिँचाइ अनुदान

कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७८÷७९ मा २४ कृषि समूहलाई अनुदान प्रदान गरेको छ । ज्ञान केन्द्रले आठ पालिकाका पानी अभाव भएका खेतीयोग्य भूमिमा सिँचाइको व्यवस्था गरेको छ । केन्द्रले रु ४४ लाख १५ हजार नौ सय २० अनुदान प्रदान गरेको थियो । उक्त रकमबाट जिल्लामा चार सय ९० मिटर कुलो पक्की बनाइएको छ भने चार मोटर वितरण, नौ सय मिटर पाइप वितरण र चार वटा कुलोको बाँध निर्माण गरिएको ज्ञान केन्द्रका प्रमुख तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त परिमाण दिइएको अनुदानले २० हेक्टर क्षेत्रफलमा सिँचाइयुक्त जग्गा बनाउन सकिएको छ । चौबीस समूहलाई रु एक लाख ३३ देखि एक लाख ९२ हजारसम्म अनुदान उपलब्ध गराइएको उहाँले बताउनुभयो । कृषिमा लगानी अझै पर्याप्त नभएको कृषकको गुनासो छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?