हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा चासो बढ्दै

गण्डकी:हिमालपारिको जिल्ला मुस्ताङ कृषि उत्पादनका धेरै सम्भावनायुक्त जिल्ला हो । यहाँ उत्पादन हुने स्याउ, खुपार्नी, फापर, उवा, आलुदेखि जिम्बुलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको छ ।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरभन्दा माथि उत्पादन हुने यहाँका हरेक फलफूल, अन्न तथा जडीबुटी स्वास्थ्यवद्र्धक एवं बहुपोषणयुक्त मानिन्छ । विगतमा यहाँका उत्पादनले बजार नपाउँदा गाउँमै कुहिएर फाल्नुपरेको वास्तविकतामा स्थानीय जागरुकतासँगै गर्न थालिएको तिनीहरूको प्रशोधन तथा प्याकेजिङ यतिखेर मुस्ताङ्गीका लागि बरदान सावित भएको छ ।

स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले पनि जोड दिँदै विभिन्न तालिम दिन थालेका छन् । स्थानीय उत्पादनको प्याकेजिङ तथा ब्रान्डिङका कारण यहाँका स्थानीयवासी आयआर्जजमा जोडिएको कुच्छपतोरङ्गा महिला लघु उद्यम समूह घरपझोङ्ग गाउँपालिका–५ का अध्यक्ष श्यामु थकालीले बताउनुभयो ।

“प्याकेजिङ तथा ब्रान्डिङ नहुँदा स्याउ, खुर्पानीजस्ता फलफूल कुहिएर फाल्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “अहिले भने यहाँ हुने गरेका हरेक उत्पादनलाई सुकाएर प्याकिङ तथा कतिपय जुस बनाएर बजारमा पठाउने गरेका छौँ ।” मुस्ताङमा आउँदा पर्यटकले यहाँका उत्पादनलाई कोसेलीस्वरुप लैजाने गरेको बताउँदै उहाँले बजारको कुनै समस्या नरहेको बताउनुभयो ।

उत्पादनको ब्रान्डिङसँगै स्थानीय महिला आयआर्जनमा जोडिएको बताउँदै उहाँले आफूहरूको समूहमा १४ जना आबद्ध भएको बताउनुभयो । उत्पादन प्रशोधनका लागि गाउँपालिकाले पाँचदिने तालिम दिएको बताउँदै थकालीले त्यसयता फापरको सागको धुलो, झिलिङ्गा आदि तयार गरी बजारमा पठाउने गरेको बताउनुभयो ।

ब्रान्डिङ र प्याकेजिङ नहुँदा अन्य ठाउँको उत्पादन पनि मुस्ताङको भनेर बिक्री गर्ने गरेको पाइएपछि गाउँपालिकाले यहाँको उत्पादनलाई ब्रान्डिङ गर्न थालेको स्थानीयवासी बताउँछन् । मुस्ताङको आलुको पहिचान जोगाउन घरपझोङ्ग गाउँपालिकाले आलु ब्रान्डिङ गर्न थालेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० का लागि यहाँका पाँचवटै वडामा उत्पादित आलुको ब्रान्डिङ तथा प्याकेजिङ सुरु गरेको हो ।

स्याउका बगैँचामा आलु लगाएर यहाँका स्थानीयले स्याउ र आलु दुवैको उत्पादन लिने गरेका छन् । स्याउ, खुर्पानीजस्ता वस्तु सुकाएर प्याकिङ गर्नुका साथै यिनीहरूको जुस बनाएर पठाउने गरिएको बताउने अर्का स्थानीयवासी वित्ती थकाली प्रशोधनले उत्पादित वस्तु कुहिएर जाने समस्या हटेको बताउनुहुन्छ । पछिल्लो समयमा यहाँको फापरको पिठो, सिस्नुको धुलोलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको उहाँले बताउनुभयो ।

मुस्ताङमा आउने जो–कोही पर्यटकले यहाँ तयार गरिएका जुस, जाम, अचार, क्यान्डी, सुकुटी आदिलाई कोसेलीका रूपमा लैजाने गरेको उहाँले बताउनुभयो । उत्पादन प्रशोधनले स्थानीयलाई आयआर्जनमा जोडेको भुग्मोर साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष कमला लालचन बताउनुहुन्छ । आफूले संस्थागतरूपमा प्रयास अघि बढाएको बताउँदै उहाँले सात वर्षअघिदेखि संस्था दर्ता गरी यसमा लागिएको बताउनुभयो ।

हिमाली उत्पादनको मौलिकता एवं यहाँको पहिचानलाई कायम राख्दै स्थानीयलाई आयआर्जनसँग जोड्न उत्पादनको ब्रान्डिङमा गाउँपालिकाले जोड दिएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउनुहुन्छ । पछिल्लो समयमा स्थानीयको जागरुकतासमेत बढ्दै गएको उल्लेख गर्दै उहाँले यसले आफूहरूलाई थप उत्साहित बनाएको बताउनुभयो ।

मुस्ताङवासी वर्षौँदेखि नै अतिथिदेवो भवःको मन्त्रलाई आत्मसात गर्दै आएको बताउनुहुने जिल्ला समन्वय समिति प्रमुख माया गुरुङले यहाँका स्थानीय उत्पादन प्रशोधन गर्दै कोसेलीका रूपमा पठाउन सक्रियता बढेको बताउनुभयो । मुस्ताङको आफ्नै पर्यटकीय विशष्टिता रहेको र यहाँ हुने उत्पादनको डिजिटल बजार विस्तारका लागि पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले फागुनको अन्तिम साता स्थानीयलाई बजारीकरण सम्बन्धी तालिम दिएको अध्यक्ष कमला गिरीले जानकारी दिनुभयो । “मुस्ताङमा हुने उत्पादनको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ हामीले तालिम दिएका हौँ”, उहाँले भन्नुभयो, “भौगोलिक विविधतासँगै यहाँ हुने उत्पादन पनि मुस्ताङको विशिष्टता हो ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?