विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

गलेश्वर:बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्नेबाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्नुहुन्छ । उहाँमा युवाको जस्तै जोस र जाँगर कायमै छ ।

करिब ३५ वर्ष अघि मलेशिया जानुभएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडी मुलुकमा नै बिताउनुभयो । मलेशिया, युएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उहाँ गाउँ फर्किनुभयो ।

म्याग्दीको बेनीनगरपालिका–२ बन्चरेढुङ्गाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उहाँको जीवनमा खुशीयाली छाएको हो । घिमिरेले १४ रोपनी खेत र बारीमा बाह्रैमास तरकारी खेती गर्नुहुन्छ । त्यसबाट वार्षिक रु १० लाख कमाउनुहुन्छ । छोरा, छोरी र श्रीमतीले पनि काममा सहयोग गर्ने हुँदा ज्याला तिरेर अझसम्म कसैलाई काममा लगाउन परेको छैन ।

हरिलाल जस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की, शोभित सापकोटा र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी लाभ लिन सफल हुनुभएको छ । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी पाँच जना मात्रै होइन जिल्लामा कैयौँ युवा छन् ।

देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइ बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय चन्द्रबहादुर घिमिरे पनि अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल हुनुभएको छ । “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, हरिलालले भन्नुभयो, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।”

विसं २०६६ देखि व्यावसायिक प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका घिमिरेले १४ रोपनीमा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, काँक्रो, मुला, धनियाँ, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु १० लाखभन्दा बढी कमाइ हुने गरेको बताउनुभयो । घिमिरेले भन्नुभयो, “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले छोरालाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।”

अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला, बन्दा, काउली, केराउ, धनियाँलगायतका तरकारी लटरम्मै फलेका छन् । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । दुई छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आउनुभएको छ ।

“तरकारी बेचेर नै एक दिनमा रु तीन हजारको आसपासमा कमाइ हुन्छ”, घिमिरेले भन्नुभयो, “महिनाको सरदर रु ८० हजारदेखि रु एक लाखसम्म आफ्नै घरपरिवारसँग बसेर खेतबारीमा नै कमाइ हुन थालेपछि किन जानु विदेश ।”

“२१ वर्ष खाडी मुलुकमा बिताउँदा पनि छोराछोरी र श्रीमतीको आङमा गतिलो कपडा र पोसिलो खानेकुरा जुटाउन सकेको थिएन”, घिमिरेले विगत सम्झदै भन्नुभयो, “अहिले रोजीरोजी खान र लगाउन सक्ने भएका छन्, ऋण माग्न कसैकोमा जानुपरेको छैन । सबै खर्च तरकारी खेतीबाट नै जुटेको छ ।” जिल्लाका छ स्थानीय तहका ७० भन्दा बढी युवा र काम गर्न सक्ने उमेरका व्यक्ति व्यावसायिक खेतीमा लागेका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments