युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता

बलेवा:दिलबहादुरको दैनिकी निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाइने निगालोलाई उहाँले क्षणभरमै चोया बनाउनुहुन्छ ।

बाहिरी–भित्रीपत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्नुहुन्छ ।

उहाँ सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् । भएका विद्यालयमा पढ्न जाने पहुँच पनि भएन । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिक्नुभयो । बाबुसँग डोको र बाजेबाट भकारी बन्न सिक्नुभयो । पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई जीविकोपार्जन गर्न पुगेको छ । र, उहाँ यसमा सन्तुष्ट पनि हुनुहुन्छ ।

बागलुङको काठेखोला गाउँपालिका–५बिहुँका दिलबहादुर परियार गाउँमा एक्ला सीपालु भने हुनुहुन्न । उमेरले ६५ वर्ष पुगेका परियारको उमेर समूहका गाउँका अधिकांश ज्येष्ठ नागरिकमा यस्तो सीप छ । पहिले घरका लागि आफै चोयाका सामग्री तयार गर्नेहरु अहिले कम छन् । पछिल्लो समय बिक्रीका लागि समेत चोयाको सामग्री तयार हुन्छन् । सीप भएका सबैले अहिले डोका, डाला बुन्दैनन् ।

दिलबहादुर हिउँद बर्खामा खेतबारीको कामबाहेक फुर्सदको समयमा चोया बन्नुहुन्छ । एक दिनमा तीन वटासम्म डोका तयार गर्ने दिलबहादुरले चोयाकै सामग्रीबाट हुने आम्दानीले घरखर्च चलाउनुहुन्छ । एउटै डोकाको मूल्य गाउँमा रु चार सयदेखि आठ सयसम्म पर्छ भने अन्य चोयाका तयारी सामग्रीको मूल्य आकार अनुसार फरक पर्छ ।

दिलबहादुरको जस्तै चोयाका सामग्री तयार गरेरै आम्दानी गर्ने गरेको अनुभव छ बागलुङ जैमिनी नगरपालिका–३ दमेकका ५७ वर्षीय सूर्यबहादुर पुनको पनि । उहाँले पनि निगालोको चोयाबाटै सामग्री बनाउनुहुन्छ । करिब २५ वर्ष पहिलेसम्म त उहाँको आम्दानीको मुख्यस्रोत नै चोयाका सामग्री नै थिए । दमेकमा तयार भएका चोयाका सामग्री स्याङ्जा र रुपन्देहीसम्म पुग्थे । भरिया लगाएरै डाला, नाङ्ला, डोका र भकारी बेच्न पुतलीखेतहुँदै बुटवल पुग्ने सूर्यबहादुर फर्किँदा घरखर्च खाद्यान्न, नून र तेल लिएर फर्किनुहुन्थ्यो । अहिले पनि उहाँको हातको सीप रोकिएको छैन । अहिले तयार हुने सामग्री गाउँमै बिक्री हुन्छन् ।

बिहुँका दिलबहादुर, दमेकका सूर्यबहादुर मात्रै होइन बाबुबाजेबाट सीप हस्तान्तरण भएर जीविकोपार्जन गर्ने बागलुङमा धेरै छन् । उमेरले ६० नजिक रहेका उनीहरुबाट भने नयाँ पुस्तामा यस्तो सीप हस्तान्तरण भएको छैन् ।
“छोराहरुले हामीले जस्तो सीप सिकेनन्, पहिला पढेँ, अहिले विदेश छन्”, बिहुँका दिलबहादुर परियारले भन्नुभयो, “सीप सिक्ने समय नै भएन्, अहिले किन चाहियो भन्छन् ।”
बाबुबाजेका पालादेखिको सीप सिकेरै जीवन चलाएको अनुभव छ उहाँसँग । दिलबहादुर चोयाका सामग्री मात्रै होइन पुख्र्यौली पेसा कपडा सिलाउन पनि माहिर हुनुहुन्छ । हातमा सीप भएकैले बुढ््यौलीसम्म पनि आम्दानी गरिरहेको अनुभव छ उहाँसँग ।

“हामीलाई दुःखले सिकियो, छोराछोरी पढेपछि विदेश लागे”, दिलबहादुर भन्नुहुन्छ, “आफ्नै आँगनमा काम गर्दा मलाई त दुःख लाग्दैन् ।” युवाले पनि आफूहरुले जानेको सिकिदिए हुन्थ्यो भन्ने लाग्छ उहाँलाई ।

दमेकका सूर्यबहादुर पुन पनि सीप हस्तान्तरण नभएकोमा दुःखी हुनुहुन्छ । उहाँका छोरा पनि वैदेशिक रोजगारीमा हुनुहुन्छ । युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा गाउँमा घरायसी प्रयोजनका लागि चाहिने चोयाको सामग्रीको ठाउँ बजारमा पाइने प्लास्टिकका सामग्रीले ओगटेको छ, भने निगालो, बाँस खेर गइरहेका छन् ।

“डालो, नाङ्लो प्लास्टिकको आउन थाले, हामीले बुनेको भन्दा सस्तो पर्छ, भकारीको ठाउँमा प्लाष्टिकका भाँडा प्रयोग गर्छन्”, पुन भन्नुहुन्छ, “युवाले सिकेनन्, बुढापाका सकिए पनि वनको निगालो वनैमा रहने त होला ।” व्यावसायिक बन्न नसके पनि घरायसी प्रयोजनका लागि मात्रै भए पनि युवाहरुले यस्तो सीप सिक्नुपर्ने उहाँको तर्क छ ।

युवापुस्ताले भने चोयाको सामग्री बनाउने सीपले आम्दानी नहुने तर्क गर्छन् । बागलुङका अधिकांश स्थानीय तहमा चोयाका लागि बाँस र निगालो पाइन्छ । ताराखोला गाउँपालिका निगाले बाँसबाट बनाइएको काईंयोबाटसमेत चर्चित छ । तर, पहिले जस्तै न डोको, डालो, नाङ्लो, भकारी र थुन्सेको प्रयोग हुन्छ न बाँसको काईंयोको । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा प्लास्टिकका सामग्रीले पौराणिक सीप विस्थापन गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments