रैथाने बाली जोगाउन सचेतना फैलाउँदै सहकारी
कञ्चनपुर:रैथाने बाली जोगाउन शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित नव सिर्जना बहुउद्देश्यीय सहकारी संस्थाले सचेतना अभियान सञ्चालन गरेको छ ।
सहकारीले लोप हुँदै गरेका रैथाने बाली संरक्षणमा जोड दिनका लागि जैविक विविधता मेला, प्रदर्शनी, गोष्ठी, छलफललगायतका कार्यक्रम सञ्चालन गरेको छ ।
रैथाने प्रजातिका सोधुवा, सोठियारी, अञ्जना, निमै, सिमटारी, एजवाइन, बामनचिनी, कगरा, लालचन्द, गाजरगोला, रभुनी, थापाचिनी, बासमती, ध्युपुरी, सेतो अनदी, रातो अनदी, मटमुर, बन्दना, कोइपुर्वा, आसाफल, झुम्का, बगरी, मनसुलीलगायतका लोपोन्मुख अवस्थामा पुगेका धानका प्रजाति जोगाउनका लागि नयाँ पुस्तालाई सचेत पार्ने कार्य भइरहेको सहकारीका अध्यक्ष भीमराज अवस्थीले बताउनुभयो ।
“धानका पुराना प्रजाति सुक्खा सहनसक्ने, थोरै पानीमा पनि उत्पादन दिने, डुबान सहनसक्ने अवस्थाका रहेका छन्”, उहाँले भन्नुभयो, “पुराना धानका प्रजातिको खेती गर्न छाडेर हाल हाइब्रिड (वर्णशङ्कर) जातका बढी उत्पादन दिने धानखेतीप्रति किसानको रुचि बढदै गएको छ ।”
उन्नत जातका धानका प्रजातिसँगै पुराना जातका धानको खेतीलाई किसानले सँगसँगै लैजानुपर्ने उहाँको भनाइ छ । जैविक विविधताको संरक्षणमा टेवा पु¥याउनका लागि रैथाने जातका अन्नबाली, तरकारी बाली, तेलहन बाली, दलहन बालीबारे नयाँ पिँढीलाई जानकारी दिन कार्यक्रमलाई निरन्तररुपमा अगाडि बढाइएको सहकारीका अध्यक्ष अवस्थीले बताउनुभयो ।
“वर्षौंदेखि लगाउँदै आएका रैथाने बालीका विभिन्न जातको क्रस गरेर जिन बैंकले हाइब्रिड बालीको बीउ बनाई हामीलाई नै चर्को मूल्यमा बेचिरहेको छ”, उहाँले भन्नुभयो, सुक्खा सहनसक्ने, चिसो, गर्मीमा हुर्कने बाली लोप हुँदै गएका छन् ।”
रैथाने बाली लोप हुनुमा किसानकै कमजोरी रहेको उल्लेख गर्दै उहाँले बढी उत्पादनको लोभमा परम्परागत बाली लोप भइरहेकाले त्यसको जगेर्ना गर्नु नितान्त आवश्यक रहेको बताउनुभयो । स्थानीय तहले खेती प्रणालीमा सुधार गरी स्थानीयस्तरमै जीन बैंकको स्थापना गरी उन्नत जातका धानलगायतका बालीको बीउ सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “रासायनिक मलको सट्टा ढैँचा, मुँग लगाउने गर्नु पर्दछ, पहिला मलका लागि ढैँचा र मुँग लगाइने गरेको थियो, हाल त्यसलाई बिर्सेर रासायनिक मल हाल्दा माटोको गुणस्तरमा निकै ह्रास आउँदा रैथाने बाली फस्टाउन गाह्रो परेको छ”, प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यालयका प्रमुख सञ्जु उपाध्यायले भन्नुभयो । उहाँले नयाँ प्रविधि प्रयोग गरेर उत्पादन बढाउँदा रैथाने प्रजाति हराउने चिन्ता रहेको बताउनुभयो ।
उहाँले नयाँ प्रविधिको प्रयोग गरी उन्नत जातका बाली पनि लगाउने सँगसँगै रैथाने बालीलाई लगाउने गरे खाद्यान्नको समस्या हटेर जाने बताउनुभयो । कृषिमा प्रयुक्त हुने युवा जनशक्ति विदेशिदा जग्गा बाँझो रहने भएकाले स्थानीय तहले युवालाई स्वदेशमै काम गर्नका लागि आकर्षक योजना ल्याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
कृषि ज्ञान केन्द्रका अधिकृत हरिदत्त जोशीले कम वर्षा हुने प्रक्षेपण भइसकेकाले किसानले सुक्खा र डुबान सहन सक्ने जातका धान रोप्नुपर्ने बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लामा थोरै वर्षा हुँदा २२ प्रतिशत मात्रै रोपाइँ भएको छ । गत वर्ष यसै समयमा यहाँ ७० प्रतिशत रोपाइँ भएको थियो ।
सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकेन्द्रराज भट्टले युवा जनशक्तिलाई टिकाइराख्न कम लागतमा बढी उत्पादन दिने बाली लगाउनका लागि उत्प्रेरित गर्न विगतको तुलनामा पाँच गुणाले बजेटमा वृद्धि गरी कार्यक्रम अघि सारिएको बताउनुभयो ।
नगर प्रमुख रणबहादुर महराले नगरवासीको प्रमुख आयको स्रोतका रुपमा कृषि रहेको चर्चा गर्दै उहाँले पर्याप्त स्र्रोतसाधन नभए पनि १२ वटै वडामा कृषिको सम्भावना पहिल्याएर वैज्ञानिक तरिकाले कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कृषि विवरण तयार भएपछि त्यसकै आधारमा कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ थियो ।
उहाँका अनुसार किसानले उत्पादन गरेको कृषि उपजलाई लामो समयसम्म भण्डारण गर्न चिस्यान केन्द्र निर्माण गर्ने तयारी भइरहेको बताउनुभयो । जग्गा प्राप्तिका क्रममा रहेकाले जग्गा प्राप्ती भएसँगै चिस्यान केन्द्र निर्माण हुने बताउनुभयो ।
