अब मजदुरी गर्न भारत जाँदैनन् आनन्दपुरका किसान

बझाङ:बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाउनुभयो । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उहाँ तरकारी खेती रोज्नुभएको हो ।

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका बोहरालाई यसपटक पर्याप्त आलु उत्पादन भएपछि घर छोड्न मन लागेको छैन । छोड्नुपर्ने अवस्था पनि छैन । पाँच कट्टामा बीउ रोप्नुभएका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उहाँको रोजाइ तरकारी खेती नै भएको छ ।

“दुई सुप्पो मकै फल्ने बारीमा यसपटक चार बोरा आलु फल्यो । गत साता रु ३४ हजारको आलु बिक्री गरे । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ”, बोहराले भन्नुभयो । उहाँ यस वर्ष मात्र लामो समयसम्म घरमा बस्नुभएको हो ।

वर्षमा झण्डै आठ महिना समय बोहराको भारतमै मजदुरी गरेर वित्थ्यो । उसबाटै उहाँको परिवारको खर्च चल्थ्यो । बोहराले भन्नुभयो, “एक वर्षयता मजदुरी गर्न भारत गएको छैन । आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु । अब मजदुरी गर्न भारत जाँदैन ।”

कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताउनुभयो । “हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन । कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ । यसरी व्यावसायिकरूपमा आलु खेती गरेको पहिलो पटक हो । सुरूआतमै फाइदा भयो ।”

बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ । हालसम्म रु २७ हजारको आलु बिक्री गरिसकेको उहाँले सुनाउनुभयो । किशोरावस्थामै पुरुष विद्यालय छोडेर भारतमा मजदुरी गर्न जाने गरेका छन् । रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा हुनुहुन्थ्यो ।

रमादेवीले भन्नुभयो, “अब गाउँमै तरकारी खेतीमै मिहेनत गर्न लगाउँछु । यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ । पढाइ पनि गर्छ, भारत पठाउँदिन ।”

राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ

मनमती बोहरा ७१ वर्षकी हुनुभयो । उहाँलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन । “एकपटक श्रीमान्ले बाली फेर्नुप¥यो भनेर आलु र टमाटर लगाउनुभएको थियो तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन ।” त्यसपछि कहिल्यै आलु नलगाएको उहाँले बताउनुभयो ।

यसपटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताउनुभयो । “हाम्रो सबै बारी गरेर तीन क्विन्टल बराबर मकै फल्थ्यो । आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो । यसपटक भने नसोचेकै आलु उत्पादन भयो । आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ ।” उहाँले भन्नुभयो ।

धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन् । “पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो”, उहाँले भन्नुभयो, “फेरि आलु निकालेर सुकाइरहेका छौँ । अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ ।”

धवलसिंहको परिवारमा अहिले पाँच जना हुनुहुन्छ । पाँचै जना आलुकै पछाडि लागिरहनुभएको छ । दुई वर्ष अगाडिदेखि नै नेपाल आउनुभएका धवलसिंहलाई यसपटक भने व्यावसायिक सफलता मिलेको छ । “वर्षभरि काम गर्दा रु एक हजार पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ । समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो ।” उहाँले भन्नुभयो ।

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताउनुभयो । “कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ”, विष्टले भन्नुभयो, “काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौं ।” आनन्दपुरमा पनि आफूले गरेको मेहेनतअनुसार सिचाई, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उहाँले बताउनुभयो । “कृषकले इमानदारिताका साथ काम गरेमा उहाँहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ ।” उहाँले भन्नुभयो ।

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ । ड्राइगन खेती भरखर सुरू गरेका छौँ । नतिजा सफलोन्मुखतिरै देखिएको छ ।”

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments