कैलालीको वन क्षेत्र घट्दै

गोदावरी: पछिल्लो समयमा विभिन्न नाममा कैलालीको वन क्षेत्र घट्दै जान थालेको छ । जिल्लामा व्यक्ति विशेष, मुक्त कमैया, सुकुम्बासी, बाढीपीडित, पहिरोपीडितबाट संस्थागतरूपमा वन अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै जान थालेको हो ।

पूर्व–पश्चिम राजमार्गको उत्तरपट्टि खुटिया दिपायल द्रुतमार्ग तथा सेती लोकमार्ग निर्माणले तराईको भावर र चुरे क्षेत्रको वन विनाश हुने देखिएको छ । भावर र चुरे क्षेत्रमा हुने वन विनाशले वातावरणमा असन्तुलन भई तराईमा डुबानको खतरा बढ्दै गएको छ ।

कैलालीका १३ वटा स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण भइरहे पनि वन कार्यालयले अतिक्रमण हटाउन चासो दिएको छैन । गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिकाको मसुरिया, पहलमानपुर, लम्कीको बल्चौर, धनगढी उपमहानगरपालिकाको फूलबारी, कैलारी गाउँपालिकाको वसन्तालगायतका क्षेत्रमा वन अतिक्रमण गरी घरटहरा निर्माण गरिएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ ।

कैलालीमा सबैभन्दा बढी वसन्ता वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । वसन्ता क्षेत्रमा आठ हजारभन्दा बढी मानिसले बाढीपीडितका नाममा वन अतिक्रमण गरी घरटहरा निर्माण गरेका छन् । वन अतिक्रमणले वसन्ता जैविकमार्गको ‘कनेक्टीभिटी’ जोखिममा पर्नुका साथै वन क्षेत्र खण्डित भइरहेकाले वन्यजन्तुको बासस्थान विनाश भइरहेको, अवैध चोरी निकासी–तस्करी र शिकारलगायतका क्रियाकलापले वन संरक्षणमा चुनौती थपिएको डिभिजन वन कार्यालय धनगढीका वन अधिकृत भीम ढकालले बताउनुभयो ।

कैलालीमा कुल क्षेत्रफलको दुई लाख पाँच हजार नौ सय ३९ हेक्टर (६२ दशमलव ६८ प्रतिशत) वन रहेको छ । तराई र भावर क्षेत्रमा एक हजार नौ सय ३१ वर्गकिलोमिटर (५९ दशमलव ७० प्रतिशत) र चुरे क्षेत्रमा एक हजार तीन सय तीन दशमलव सात वर्ग किलोमिटर (४० दशमलव ३० प्रतिशत) वन रहेको तथ्याङ्क छ ।

सुदूरपश्चिममा सबैभन्दा बढी वन क्षेत्र कैलाली र कञ्चनपुरमा रहेको छ । वन विनाश र अतिक्रमणको समस्या पनि अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा बढी रहेको तथ्याङ्कले देखाएको छ । कैलालीमा हालसम्म २५ हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको अनुमान गरिएको छ । तर सरकारी तथ्याङ्कले २१ हजारभन्दा बढी वन अतिक्रमण भएको देखाउँछ । तथ्याङ्कले देशभरकै सबैभन्दा बढी कैलालीको वन क्षेत्र अतिक्रमण भएको देखाएको छ ।

कैलालीमा बढ्दो सहरीकरण, प्रदेशको राजधानी, स्वास्थ्य, शिक्षा, यातायातलगायत सुविधाका कारण पहाडबाट बसाइँ सर्ने दर अत्यधिक छ । बसाइँ सरेर आएका कतिपयले वन अतिक्रमण गरी घरटहरा निर्माण गर्ने गरेको वन प्राविधिकको भनाइ छ ।

कैलालीमा निर्माणाधीन राष्ट्रिय र प्रदेश गौरवका आयोजना निर्माणले वन मासिने क्रम बढ्दै गएको छ । दिनानुदिन भएको वन क्षेत्र मासिँदै जाने, संरक्षणमा ध्यान नदिने हो भने भविष्यमा यसको असर गम्भीर देखिने खतरा बढेको वन संरक्षणकर्मी पुष्कल बमको भनाइ छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments