सिस्नो, जंगल र जिन्दगीको कथा || पाखामा एकल महिला सुम्निमाले देखेको सपना

रसुवाको पाखापखेरामा हेला गरिएको सिस्नुले आज एकजना कर्मठ एकल महिला, सुम्निमा लामाको जीवनमा मात्र नभई सिंगो समुदायमा नै आशाको दियो बालेको छ। कुनै बेला १५-१६ वर्षसम्म सिस्नुको स्वादसमेत नचाखेकी सुम्निमा आज यसैको नियमित उपभोक्ता र प्रवर्द्धक बनेकी छिन्। प्रेसर लो हुने समस्याले गर्दा हप्ताको तीन पटक दाल-तरकारीकै रुपमा सिस्नु खान थालेपछि उनको जीवनमा सिस्नु अभिन्न बनेको छ। यही सिस्नु आज उनको पहिचान र आत्मनिर्भरताको बलियो आधार बनेको छ, जसको कथा प्रेरणादायी छ।

सुम्निमाले यो व्यवसायको यात्रा लगभग २०७५/७६ सालतिर सुरु गरेकी हुन्। एकल महिलाको आर्थिक अवस्था सुधार्ने र अन्य महिलाहरूलाई पनि समूहमा आबद्ध गराई सक्षम बनाउने हुटहुटी, एक कृषि जेटिए र बौद्धमा पिठो बेच्ने दिदीहरूले सिस्नु बेचेको देखेर पाएको प्रेरणाले उनलाई यो बाटोमा डोर्‍यायो। तर, उनको सुरुवाती यात्रा भने सहज थिएन। लाङटाङ राष्ट्रिय निकुञ्जको कडा नियमका कारण हरियो सिस्नु राजधानीसम्म पुर्‍याउनु फलामको चिउरा चपाउनु सरह थियो। धुन्चे पुगेपछि बाटो नपाएर सिस्नु फाल्नुपर्ने तीतो अनुभवले उनलाई झनै दृढ बनायो।

सिस्नुलाई काठमाडौं हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने अठोट लिएकी उनले ‘सिस्नु पाउडर उत्पादन उद्योग’ दर्ता गर्न अनेकौं हण्डर खेपिन्। कृषि, वन हुँदै घरेलु कार्यालयसम्म धाउँदा करिब डेढ वर्ष बित्यो। सिस्नु वनस्पति हो कि जडीबुटी, राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ कि पर्दैन भन्ने जस्ता अनेकौं प्रश्न र प्रक्रियागत झन्झटले उनलाई गलाउन खोज्यो। अन्ततः उनको क्षेत्र राष्ट्रिय वनअन्तर्गत पर्ने र सिस्नु वर्षेनि उम्रने घाँसजस्तै (रुखबिरुवा नभई) भएकाले वन कार्यालयले सिफारिस दियो। त्यसपछि कृषि र घरेलुबाट स्वीकृति पाएसँगै उनको उद्योगले कानुनी मान्यता पायो।

उद्योग दर्ता भएपछि सुम्निमाले रसुवाको सिस्नुलाई काठमाडौंको बजारमा नियमित पठाउन थालिन्। करिब तीन वर्षअघि (पूर्ण रुपमा दुई वर्षदेखि) उनको भेट ‘स्याड्तान कृषि फर्म’का कृष्ण स्याड्तानसँग भयो। यो भेट उनको व्यवसायका लागि कोशेढुंगा साबित भयो। आज उनले संकलन गरेको सिस्नु कृष्ण दाइको फर्ममार्फत राइथाने जस्ता बजारमा पुग्छ। कृष्ण दाइले नेपालभरिको सिस्नु संकलन गरी ‘सिस्नु बैंक’ बनाउने महत्वाकांक्षी योजना बोकेका छन्।

सुम्निमा अरुको बारीमा फलेको सिस्नु संकलन गर्छिन्। यसले दैनिक ४-५ जना र हिउँदमा ६-७ जनासम्म दिदीबहिनीहरूलाई रोजगारी दिएको छ। प्रतिकेजीको हिसाबले पैसा पाउँदा सिस्नु टिप्नेहरू पनि दंग छन्। सुरुमा दैनिक ६०-८० केजी सिस्नु पठाउने उनी अहिले माग बढे पनि पुर्‍याउन नसकेको बताउँछिन्। कहिलेकाहीँ एकैपटक १५०-२०० केजीसम्म सिस्नु राइथाने बजार र कोदालीमा जान्छ। हरियो सिस्नु हाल प्रतिकिलो २०० रुपैयाँमा बिक्री हुन्छ। यसका साथै उनी सिस्नुको पाउडर र खेती गर्न चाहनेका लागि बीउ पनि बेच्छिन्।

“सिस्नुको बोटबिरुवाप्रति मलाई धेरै माया लाग्छ, किनभने यसले पैसा फलाएको छ,” उनी भन्छिन्। आफ्नो घरवरिपरि पनि सिस्नु जोगाउने र कसैले माग्यो भने आफैँ टिपेर, राम्रोसँग फ्रेममा राखेर दिने उनको बानी छ। सिस्नुको खेती बीउ र जरा दुवैबाट गर्न सकिने र उनी आफैँ यसको सुरुवात गर्ने योजनामा छिन्।

शिक्षण पेसामा समेत आबद्ध सुम्निमा आफ्नो समयको सही व्यवस्थापन गर्छिन्। स्कुलबाट फर्केपछि खाजा खाएर सिस्नु प्याकिङ गर्ने, बिहान गाडीमा हालेर पठाएपछि स्कुल जाने उनको दैनिकी हो। कृषि कर्ममा रुचि राख्ने शिक्षकका रुपमा आफूलाई चिनाउने उनी टिकटकभन्दा व्यवसायिक काममा सामाजिक सञ्जाल प्रयोग गर्छिन्। दैनिक खर्च यही व्यवसायले धानेको छ। घरमा बसेर टिकटक हेर्दै वा कुरा काटेर समय बिताउने दिदीबहिनीहरूलाई उनी केही न केही काम गर्न सुझाउँछिन्।

रसुवाको पाखामा सुम्निमाले देखेको सिस्नुको सपनाले आज उनको मात्र होइन, अरु धेरैको जीवनमा पनि हरियाली छरेको छ। यो कथा जंगल, सिस्नु र एक अदम्य साहसी महिलाको जिन्दगीको सुन्दर प्रतिविम्ब हो, जसले देखाउँछ – दृढ इच्छाशक्ति र निरन्तर प्रयास भए सफलता असम्भव छैन।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?