पैसा चपाउने कि अन्न उब्जाउने ?

” भोलि जब सबैजना ‘ठूलो मान्छे’ बन्ने दौडमा सफल होलान्, तब हामी सबैको पेट केले भरिन्छ? के हामी पैसा चपाएर बाँच्न सक्छौं ? “
हाम्रो समाजमा सफलताको एक अनौठो तर तितो परिभाषा छ: सुटबुट र डट्पेन बोक्ने ‘ठूलो मान्छे’ अनि हिलो, माटो र कोदालो समाउने ‘सानो मान्छे’। यो परिभाषाले हाम्रो सोच र प्राथमिकतालाई यसरी गाँजेको छ कि हामी जीवनको सबैभन्दा आधारभूत सत्यलाई नै बिर्सिरहेका छौं। यदि समाजको यो परिभाषालाई नै अन्तिम सत्य मान्ने हो भने, एउटा गम्भीर प्रश्न उठ्छ— भोलि जब सबैजना ‘ठूलो मान्छे’ बन्ने दौडमा सफल होलान्, तब हामी सबैको पेट केले भरिन्छ? के हामी पैसा चपाएर बाँच्न सक्छौं?
आज गाउँका उर्वर खेतबारी बाँझिदैछन्। युवाहरू सुनौलो भविष्यको खोजीमा शहर पस्दैछन् वा विदेशिँदैछन्, किनकि उनीहरूलाई माटोसँग खेल्नुमा गौरव होइन, ग्लानि महसुस गराइन्छ। समाजले कृषि कर्मलाई सम्मान दिन नसक्दा, हातमा कोदालो बोक्न हिच्किचाउने र कलम समाउन लालायित हुने पुस्ता तयार भएको छ।
यो सत्य हो कि खल्तीको कलमले भविष्य लेख्ला। कलमले विकासका नक्सा कोर्छ, सभ्यताको रचना गर्छ र प्रगतिलाई दिशा दिन्छ। तर, हामीले यो बिर्सिनु हुँदैन कि कलम समाउने हात र सोच्ने मस्तिष्कलाई ऊर्जा दिने काम खेतको कोदालोले नै गर्छ। खेतको कोदालोले हाम्रो भोक मेटाउँछ, हाम्रो जीवनको आधार तयार गर्छ। भोकै पेट न त कलम चल्छ, न त दिमाग।
विडम्बना हेर्नुहोस्, हामी पैसा कमाउनका लागि माटो छोड्छौं र त्यही पैसाले विदेशमा उब्जिएको अन्न किनेर खान्छौं। पसिनाले कमाएको पैसा बिदेशी अन्न किन्नमा सकिँदैछ, तर आफ्नै माटोमा सुन फलाउने जाँगर हराउँदैछ। यदि हामीले अन्न उब्जाउने किसानलाई र कृषि पेशालाई सम्मान गर्न सकेनौं भने, कलमले लेखेको त्यो सफलताको कथा खोक्रो र अर्थहीन हुनेछ।
त्यसैले, अब यो भ्रम तोड्ने बेला आएको छ। ‘ठूलो’ र ‘सानो’ मान्छेको परिभाषा बदल्नु जरुरी छ। किसानको हातमा भएको कोदालो र हाम्रो थालमा आएको भातबीचको सम्बन्धलाई जबसम्म हामी बुझ्दैनौं, तबसम्म हाम्रो समृद्धि दिगो हुन सक्दैन। नत्र, भोलि हामीसँग सफलताका कथाहरू त होलान्, तर ती कथा सुनाउन पेटमा अन्नको दाना हुनेछैन। आखिर, भोकले छटपटाउँदा पैसाको बिटो चपाएर पेट भरिन्न।