जुम्लाको स्याउ र एक आमाको आँसु

जुम्लाको हिमाल हाँसिरहेको छ। काखमा रहेको एउटा बारीमा राता-पहेँला स्याउले हाँगा नै लच्किएका छन्। यो दृश्य देख्दा जो कोहीको मन फुरुङ्ग हुन्छ। तर, त्यही स्याउकी धनी एक आमाको अनुहारमा भने खुशी र पीडाको दोसाँध देखिन्छ।

उनको मिहिनेत र पसिनाको फल हो यो। उनी एकटकले हेर्छिन् र सुस्तरी भन्छिन्, “देख्दा खुशी लाग्छ बाबु, तर यसले बजार नपाएर झरेर त्यतिकै खेर जाँदा मन थाम्न सकिन्न।”

उनका शब्दमा वर्षौंको थकान र निराशा लुकेको छ। उनी थप्छिन्, “बिक्री नै हुँदैन बाबु। शहरका मान्छे दबाइ हालेको स्याउ महँगो तिरेर खान्छन्, हाम्रो यहाँको अर्गानिक स्याउ यसरी झरेर कुहिँदैछ।”

यो केवल एक जुम्ली आमाको कथा होइन। यो दुर्गममा बसेर सुन फलाउने हजारौं नेपाली किसानको साझा व्यथा हो। एकातिर हामी बिषादीयुक्त आयातित फलफूलमा पैसा बगाउँछौं, अर्कोतिर हिमालको काखमा फलेको अमृतजस्तो फल माटोमा मिलिरहेको छ।

ती आमाको लागि स्याउको प्रत्येक दाना उनको सपना र पसिनाको थोपा हो। जब त्यो सपना बजार नपाएर भुइँमा खस्छ र कुहिन थाल्छ, तब उनको मन पनि त्यसैगरी कुँडिन्छ। उनको आँखाबाट खसेको आँसु र बोटबाट झरेको स्याउमा आखिर के नै फरक रह्यो र?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?