धानको मूल्य नतोक्दा मनोमानी

परासी — कृषि, भूमि, व्यवस्था तथा सहकारी मन्त्रालयले धानको न्यूनतम मूल्य सिफारिस गरे पनि जिल्लामा कार्यान्वयन भएको छैन  । किसानले धानको मूल्य निर्धारण भए/नभएको अझै पत्तो पाएका छैनन्  ।

यसअघि जिल्लाबाट न्यूनतम समर्थन मूल्य सिफारिस गरेपछि केन्द्रबाट अनुमोदन भएर आउने गथ्र्याे । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मोटा धान प्रतिक्विन्टल २ हजार २ सय ३१ रुपैयाँ २२ पैसा र अन्यको २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा सिफारिस गरेको भए पनि जिल्ला तहमा कार्यान्वयन भएको छैन ।

मूल्य निर्धारण भएको पत्तो नपाउँदा पश्चिम नवलपरासीका किसानले पुरानै मूल्यमा धान बिक्री गर्न बाध्य छन् । धानको सिजन सकिन लाग्दासमेत सरकारले मूल्य नतोक्दा अघिल्लो वर्षको भन्दा पनि कम मूल्यमा बिक्री गर्नुपरेको किसानले गुनासो गरे ।

धान खेतमै आएर सस्तोमा धान खरिद गरिरहेका छन् । अहिले मोटा धान प्रतिक्विन्टल १ हजार ८ सयदेखि २ हजार र मसिना धान २ हजार २ सयको दरमा खरिद बिक्री भइरहेको छ ।

मूल्य निर्धारण नहुँदा व्यापारीले आफूखुसी मूल्य तोकेर धमाधम खरिद गरिरहेका छन् । धान भण्डारण गरेर राख्ने स्थान अभाव र हिउँदे खेतीका लागि किसानलाई पैसा आवश्यक भएपछि कमै मूल्यमा भए पनि बिक्री गर्नुपरेको प्रतापपुरका जगदीश यादवले दुखेसो पोखे । ‘उत्पादन भएको मध्ये आफूलाई आवश्यक राखेर बाँकी बेचेर घरखर्च धान्ने हो,’ उनले भने, ‘यस वर्ष मूल्य कति कायम भएको छ, थाहै छैन, व्यवसायीले पुरानै मूल्यमा खरिद गरिरहेका छन् ।’

व्यवसायीले खरिद गर्ने दर गाउँदेखि सहरसम्म फरक छ । ग्रामीण क्षेत्रमा अझै योभन्दा कममा कारोबार भएको पाइन्छ । त्यति मात्र होइन, धान खरिदमा अझै व्यापारीले तौल गर्दा धान राखेको बोराको तौल घटाउनका लागि तौल (जरती) राख्ने गरेका छन् । यस्तै कतिपय व्यापारीले धान जोख्न/तौल गर्न राखेको कामदारको खर्च भन्दै किसानबाटै थप रकम काट्ने गरेका छन् ।

यसअघि धानलगायत अन्य बालीको मूल्य कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालय काठमाडौंले निर्धारण गर्ने गरेको थियो । निर्देशनालयमा जिल्ला कृषि विकास कार्यालयले बजारको खुद्रा मूल्य तोकेर पठाउने गरे पनि प्रदेश सरकार गठन भएपछि केन्द्रको निर्देशनालय नै खारेज भएपछि जिल्लाबाट न्यूनतम मूल्य तोक्न छाडिएको कृषि ज्ञानकेन्द्र परासीका प्रमुख राममिलन विश्वकर्माले बताए । ‘केन्द्रबाटै मन्त्रालय खारेज भएर प्रदेशले ज्ञान केन्द्रमा रूपान्तरण गरेको छ,’ उनले भने, ‘हाम्रो काम के हो भन्नेमा अझै पनि अन्योल भएकाले समस्या भएको हो ।’

गत वर्ष जिल्ला कृषि विकासले मोटा धानको बजार मूल्य २ हजार २ सय प्रतिक्विन्टल र मसिनाको २ हजार ७ सय प्रतिक्विन्टल तोकेर निर्देशनालयमा पठाइएको थियो । पश्चिम नवलपरासीमा यस वर्ष २५ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ ।

www.kantipurdaily.com

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?