आर्थिक सहयोगको प्रतीक्षामा झापाका पाँच सय हात्तीपीडित

बनियानी (झापा): झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ ।

चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका पाँच सय ३३ परिवारले राहत नपाएका हुन् । पाँचजना मृतक परिवारसहित पाँच सय ३३ घरपरिवारका लागि एक रोड २६ लाख ४९ हजार तीन सय ९२ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताए ।

कार्यालयले पहिलो चरणमा तीन सय २१ र दोस्रो चरणमा दुई सय १२ परिवारका लागि राहत रकम माग गरेको उनले बताए । हालसम्म राहत रकम प्राप्त भएको छैन । “राहत रकमका विषयमा फोन आइरहन्छ”, उनले भने, “पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।”

गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई रु ५८ लाख २८ हजार नौ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि रु ६८ लाख २० हजार चार सय ५२ माग गरिएको थियो ।

राहत माग गरिएकामा पाँचजना मृतकको रु ५० लाख, सातजना घाइतेका लागि रु आठ लाख ५१ हजार आठ सय ९२, चौपाया एक बराबर रु १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि रु २५ लाख ४९ हजार सात सय, भण्डारण गरिएको अन्न क्षति बराबर छ लाख ८९ हजार छ सय र बालीनालीमा हात्तीले गरेको क्षति बराबर रु ३५ लाख ४८ हजार दुई सय रहेको डिभिजन वन कार्यालयले जनाएको छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments