साल्पासिलिछोमा ‘कृषि कोसेली घर’ निर्माण

भोजपुर, ८ साउनः जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले किसानलाई लक्ष्यित गरेर ‘कृषि कोसेली घर’ निर्माण गर्ने भएको छ । यहाँका किसानले उत्पादन गरेको कृषिउपज खरिदसँगै बजारीकरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको हो । गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेपश्चात भण्डारण तथा बिक्रीवितरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजलाई गाउँपालिकाले खरिद गरेर बजारीकरणको जिम्मासमेत लिने उहाँल जानकारी दिनुभयो । गाउँपालिकासँगको सहकार्यमा प्रदेश सरकारको रु ३५ लाख लागतमा यहाँ कोसेली घर निर्माण हुने जनाइएको छ ।

“किसानका कृषि उत्पादनको खरिदसँगै बजारीकरणको जिम्मा गाउँपालिकाले लिने लक्ष्यका साथ काम गरिरहेका छौँ”, अध्यक्ष कुलुङले भन्नुभयो, “किसानले फलाएका उत्पादनलाई कोसेली घरमा भण्डारण गरेर प्याकेजिङ, लेवलिङ ब्रान्डिङलगायत काम गरेर बजार पठाउँछौँ ।”

उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताउनुभयो । किसानलाई सहज रूपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छवटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङ बताउनुहुन्छ । साल्पासिलिछोले कृषि क्षेत्रको विकाससँगै उत्पादित वस्तुको बजारीकरणमा जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्ले बताउनुभयो । निर्माण गर्न लागिएको कोसेली घरमा किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन गरिने उहाँले बताउनुभयो । कृषिउपजको बजारीकरणमा किसानले भोगिरहेको समस्यालाई ध्यानमा राखेर कोसेली घर निर्माण गर्न लागिएको प्रशासकीय अधिकृत काफ्ले बताउनुभयो ।

वडा न ५, ६, ४ को माथिल्लो भेगमा किवी र वडा नं ३, १, २, ५, ४, ६ को तल्लो भेगमा सुन्तलाखेती विस्तारको काम भइरहेको प्रशासकीय अधिकृत काफ्ले बताउनुभयो । यी क्षेत्रमा उत्पादन भएका फलफूललाई लक्ष्यित गाउँपालिकामा नै जुस उद्योग सञ्चालनको योजना रहेको उहाँ बताउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?