हराउँदै गएको त्यो मौलिक स्वाद: सेलरोटी र चिप्लेको जराको साइनो
नेपाली भान्छाको शान सेलरोटीलाई नरम, लचिलो र स्वादिलो बनाउन पहिलेका मानिसहरू ठूलो मिहिनेत गर्थे। आजको जस्तो बजारमा सोडा वा बेकिङ पाउडर सजिलै उपलब्ध हुने समय थिएन। त्यो बेला सेलरोटी पकाउनुअघि वनजङ्गल र ओसिला भिरपहरामा गएर ‘चिप्ले झार’ खोज्नुपर्ने बाध्यता हुन्थ्यो।
निकै परिश्रमका साथ खोजेर ल्याइएको त्यो जरालाई कुटेर, त्यसको चोप निकाल्न वा धुलो बनाउन गरिने मेहेनत नै सेलरोटीको असली स्वादको आधार थियो। पिठो मुछ्दा मिसाइने त्यो प्राकृतिक लसिलोपनले रोटीलाई भित्रबाट नरम बनाउने मात्र होइन, धेरै दिनसम्म कडा हुनबाट पनि जोगाउँथ्यो।
तर, आज समय फेरिएको छ; मानिसहरूले सजिलोका लागि रासायनिक सोडा र पाउडर रोज्न थालेका छन्। आधुनिकताले काम त छिटो बनाएको छ, तर वनजङ्गल चहारेर ल्याएको चिप्लेको जराको त्यो मौलिक बास्ना, प्राकृतिक स्वास्थ्य र मिहिनेत मिसिएको सेलरोटीको स्वाद भने अब बिस्तारै कथा बन्न थालेको छ।
