दोब्बर उत्पादन दिने भएपछि चितवनका किसान जी नाइनप्रति आकर्षित हुँदै

रमेशकुमार पौडेल
चितवन :मालभोग केराले राम्रो आम्दानी दिए पनि केही वर्षयता यो जातमा रोग लाग्ने क्रम बढेको छ । चितवनका किसान मालभोगसँगै केराको अर्को जात जी नाइन रोपेर व्यवसाय जोगाउनेतिर लागेका हुन् । रोग कम लाग्ने र धेरै फल्ने जात भएकाले किसानले यसलाई रोज्न थालेका हुन् ।

रत्ननगरका विष्णुहरि पन्त केरा खेतीबाट राम्रो आम्दानी गरेका किसान हुन् । उनले ४० बिघामा केरा लगाएका छन् । त्यसमा ३८ बिघामा मालभोग छ । जी नाइन दुई बिघामा छ । अर्का किसान यज्ञप्रसाद सुवेदी लक्ष्मणले चितवनका विभिन्न ठाउँमा गरेर ७० विघामा केरा खेती गरेका छन्, त्यसमध्ये करिब २५ बिघामा जी जाइन छ, अरू सबैमा मालभोग नै लगाएका छन् ।

चितवनमा दुई हजार हेक्टर (तीन हजार बिघा) मा केरा खेती हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनको केरा जोनका कृषि अधिकृत इन्द्र ढुंगानाले जानकारी दिए । त्यसमध्ये अधिकांश जमिनमा मालभोग जातकै केरा छ । यो केरामा पछिल्लो समय ‘पानामा विल’ नामक रोग देखापरेको छ । यो रोगले केराको बोट फुट्ने, पात पहेँलिने र फलमै असर गर्छ । ‘धेरै बगानमा यो रोगको समस्या छ । एउटा बोटमा रोग देखिए पूरै बगान ढाक्न बेर लगाउँदैन । त्यसैले किसानलाई ठूलो जोखिम छ,’ ढुंगानाले भने । चितवनका बगानमा ३० प्रतिशत हाराहारीमा ‘पनामा विल’ ले ढाकेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ चितवनका प्रमुख मेघनाथ तिमिल्सेना ‘पानामा’ लाई कोरोनासँग दाँज्छन् ।

‘एउटा बगानबाट अर्को बगानमा सजिलै जान सक्ने खतरा छ । चाँडै पनि फैलने गर्दछ । यसको चरित्र कताकता कोरोनासँग मिल्छ,’ उनले भने । किसान पनि रोगको प्रकोप फैलिएको र व्यवसाय नै जोखिममा परेको स्विकार्छन् । तर मालभोगका केही खास विशेषताले गर्दा रोग प्रतिरोधी क्षमता निकै राम्रो भएको जी नाइन केरा लगाउन किसान खासै इच्छुक देखिएका छैनन् ।

मालभोग प्रतिहेक्टर २५ देखि ३० टनसम्म फल्छ । जी नाइन ५० टनसम्म फल्ने तिमिल्सेनाले बताए । केराको घरी हेर्दा नै फरक देखिन्छ । जी नाइनको लामो घरी र धेरै कोसा हुन्छन् । मालभोगको घरी नै छोटो र ठिक्कका कोसा हुन्छन् । उत्पादन दोब्बर हुँदा पनि किसानले किन रोप्दैनन् त जी नाइन ? ‘नेपालीको रोजाइमा पहेँलो केरा पर्छ । मालभोग पहेँलो र जी नाइन हरियो केरा हो,’ पन्तले भने ।

ग्राहकको रोजाइका कारण किसानले मालभोगको उत्पादन बढाइरहेका छन् । ‘चितवनमा पहिला सबैले हरियो केरा लगाउँथे । मूल्य नआउने भएपछि मालभोगतिर लागे । अहिले फेरि मालभोग छाडेर जी नाइन लगाए मूल्य नपाइने हो कि भन्ने शंका छ,’ चितवन केरा उत्पादक संघका पूर्वअध्यक्षसमेत रहेका यज्ञप्रसाद सुवेदी लक्ष्मणले भने, ‘जी नाइनको मूल्य तीन रुपैयाँ गोटा हुँदा मालभोग पाँच रुपैयाँमा सजिलै बिक्री हुन्छ ।’

जी नाइनलाई सिँचाइ पनि पर्याप्त चाहिन्छ । मालभोग सुक्खा जमिनमा पनि फस्टाउँछ । ‘सिँचाइका लागि पम्प राख्न समस्या छ । धेरै किसानले जग्गा भाडमा लिएर खेती गरेका छन् । चारपाँच वर्षका लागि जग्गा भाडामा लिए पनि बीचमै करार तोड्ने समस्या छ । त्यसैले ठूलो रकम खर्च गरेर भाडाको जग्गामा सिँचाइका लागि बोरिङ र पम्प राख्न खोज्दैनन्् । यसले लागत बढाउँछ,’ पन्तले भने ।

जग्गा १० वर्षसम्म भाडमा लिन पाउने र बोरिङको अनुदान बढाउने हो भने सिँचाइको व्यवस्था गर्न समस्या नभएको उनले बताए । सिँचाइका लागि बोरिङ राख्दा सरकारले अहिले ५० प्रतिशत अनुदान दिन्छ । किसानले भने ८५ प्रतिशतसम्म अनुदान दिनुपर्‍यो भन्ने गरेको परियोजना कार्यान्वयन इकाइका प्रमुख मेघनाथ तिमिल्सेनाको भनाइ छ । विशेष खालको चेम्बरमा भण्डारण गरे जी नाइन केरा पनि पहेँलो हुने उनको भनाइ छ ।

त्यस्तो चेम्बर निर्माणमा पनि अनुदान बढाउन किसानको माग छ । परियोजनाले जी नाइन केरा खेतीका लागि नै किसानलाई प्रोत्साहन गर्दै आएको उनले बताए । रोगले मालभोगलाई जुनसुकै बेला असर गर्न सक्ने भएकाले रोग प्रतिरोधी क्षमता राम्रो भएको केराको जी नाइन रोप्न किसानलाई प्रोत्साहन गरिएको कृषि अधिकृत ढुंगानाको भनाइ छ । परियोजनाले किसानलाई अनुदानमा जी नाइनका बिरुवा दिँदै आएको छ । कान्तिपुर दैनिकमा खबर छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments