पानी नपरेर रोपाइँ ढिलो

संखुवासभा — असारमा सकिँदा पनि यहाँ ४० प्रतिशत मात्र रोपाइँ भएको छ । यहाँँका माथिल्लो भेगमा रोपाइँ सकिएको छ । तल्लो भेगमा अझै रोपाइँ सुरु गरिएको छैन । गत वर्षभन्दा यस वर्ष रोपाइँ गर्न केही ढिलो भएको जिल्ला कृषि विकास कार्यालयले जनायो ।

विगतका वर्षमा असार मसान्तसम्म ६० प्रतिशत बढी रोपाइँ भइसक्ने बरिष्ठ कृषि विकास अधिकृत रविलाल शर्माले बताए । यो वर्ष माथिल्लो क्षेत्रमा भने जति पानी परेकाले रोपाइँ भएका छन् । सिँचाइ अभाव, जनशक्ति नहुनु लगायतका कारण रोपाइँ ढिलो भएको हो ।

पानी ढिलो परेपछि रोपाइँको प्रतिशत कम भएको शर्माले बताए । असारसम्ममा मकालु, चिचिला र सभापोखरी गाउँपालिकामा रोपाइँ सकिएको छ । अन्यमा बाँकी रहेको उनले बताए । समयमै पानी नपरेपछि आकाशे पानीका भरमा खेती गर्ने कृषक भने मारमा परेका छन् ।

सिँचाइको सुविधा छैन, ढुंगेधाराका कृषक युवराज खत्रीले भने, ‘बिजोक भएको छ, खेतका गरा सुकेका छन् ।’ समयमै पानी नपरे पनि धान उत्पादन घट्ने उनले अनुमान गरे । हिउँदमा सुकेका मूलमा पनि पानी देखिएको छैन, उनले भने, ‘सबै मुहान सुकेर गए ।’ वर्षात लाग्नासाथ पानीका मूल फुट्थ्यो, यो वर्ष सुख्खा लाग्यो । रोपिएका खेत पनि पानी नपरेपछि सुख्खा भएका छन्, उनले भने, ‘खेतमा धाजा फाट्न थालेको छ, रोपेको धान पनि फल्ने अवस्थामा छैन, सबै सुकेर गयो ।’

ढुंगेधारा क्षेत्रका अधिकांश खेत बाँझै छ, उनले भने, ‘साउनको पहिलो साता बित्यो, पानी परेन, कृषक आकाश हेरेर बस्न बाध्य छन् ।’ पानी परिहाले पनि खेत भिज्दैन, उनले भने, ‘कसरी रोपाइँ गर्ने, समस्या भयो ।’ आकाशे पानीको विकल्प नभएको उनले बताए ।विगतका वर्षमा आकाशे पानी नपरे पनि गाउँका धाराकुवाका छेउछाउमा भएका मूल फुटेपछि धान रोप्न समस्या नभएको उनले बताए । तर, यो वर्ष टुलुटुलु हेरेर बसेको कृषकको भनाइ छ । खेतमा भएका मूल रसाउने र पानी आउने गरे पनि यो वर्ष नदेखिएको उनले बताए ।

हिउँदका बेला धारा र कुवामा रसाएका पानी पनि वर्षात्मा समेत बढेन, उनले भने, ‘मानो रोपेर मुरी फलाउने आश मरिसक्यो ।’ उनले अब स्थानीय तहले सिँचाइको व्यवस्था गर्नुपर्ने माग राखे । कृषकलाई लक्षित कार्यक्रम राखेर सिँचाइ गरिदिनुपर्छ, उनले भने, पानीबिना कृषकले कसरी काम गर्छन् । खेतीयोग्य जमिन भएर पनि त्यसै बसिरहनु परेको छ, उनले भने, ‘कसरी हुन्छ हामीलाई सिँचाइको सुविधा प्रहिलो प्राथमिकता हुनुपर्छ ।’ मल, बीउबिजनको व्यवस्था गरेर मात्र हुँदैन, त्यसलाई रोपिसकेपछि पानी चाहिन्छ । खडेरीले केही गर्न नदिएको उनले बताए ।

तल्लो क्षेत्र मानिएको कल्छेबेंसी, चेवाबेंसी, हिंगुवाबेंसी, हेलुवाबेंसी, धुपुसेरा, पांठा लगायतका क्षेत्रहरूमा साउन लागेपछि मात्र रोपाइँ गरिन्छ । यहाँ साउनको दोस्रो हप्तामा रोपाइँ गरिँदै आएको छ । यो क्षेत्रमा धानको राम्रो उत्पादन हुन्छ । राम्रो धान उत्पादन हुने भए पनि पर्याप्त सिँचाइ नहुँदा ढिलो रोपाइँ हुने गरेको छ । यो जिल्लामा ३० हजार हेक्टरमा धान खेती गरिन्छ । त्यसमध्ये ५ हजार २ सय ४२ हेक्टर बाह्रै महिना सिञ्चित हुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments