अज्ञात रोगले मौरिपालन संकटमा

जुम्ला- जुम्लाका महुरीपालक किसानहरु यो वर्ष महुरीमा लागेको अज्ञात रोगका कारण चिन्तित छन् बर्षेनी ३ करोड रुपैयाँसम्मको मह बेच्ने जिल्लाका किसान यसवर्ष महुरीलाई खान पुग्ने महसमेत उत्पादन नभएकाले चिन्तित भएका हुन।

चन्दननाथ नगरपालिका ४ का नारायण चौलागाई मौरीपालक किसान हुन । उनले १ सय २३ घारमा मौरी पालन गरेका छन। सधैँ झै कार्तिक १ देखि मौरीको घारबाट मह निकाल्दै आएका उनले यो पटक मह त के मौरी पनि रोगका कारण फस्टाउन नसकेको देखे । उनले भने,“जुम्लाको मौरीमा रोग देखिएको छ, त्यो रोगले मौरीलाई पनि राम्रोसँग बस्न दिएको छैन,र मह उत्पादन भईरहेको छैन, यो रोगको निदान पनि हुन सकेको छैन।” उनको मौरीले वार्षिक एक घारबाट न्युनतम ३ देखि १० केजी सम्म मह उत्पादन गथ्र्यो, तर यो पटक मौरीलाई नै जाडो समयसम्म चहिने महसमेत उत्पादन भएको छैन।

चन्दननाथ नगरपालिका ३का रामकृष्ण बुढ्थापा जुम्लाकै कहलिएका मौरीपालक हुन । उनको घरमा एक सय मौरीघार छन । गाउँ भन्दा झण्डै एक घण्टाको पैदल दुरीमा गर्ने रडिखल्ला जंगलमा मौरीपालन गरेर बसेका उनी अहिले मौरीको दुरावस्था हेर्दा निकै चिन्तित छन। ‘घारबाट मौरी प्यारालाईसेस जस्तै भएर बाहिर झर्छन, चल्ला उत्पादन गर्दैन्,’ उनले भने, ‘मौरीको स्वास्थ्यमा समस्या देखिएपछि वाहिरवाट ल्याउनुपर्ने पुस्प रस ल्याउन सक्दैन्,घार भित्र मौरी पस्न नपाउदै मर्छ।’ उनका अनुसारघार भित्र मह सुक्दै गएको छ,मौरीको संख्या निकै कम र स्वास्थ्यका हिसावले कमजोर देखिन्छ। गत बैसाखदेखिनै मौरीमा यस्तो संक्रमण देखिए पनि हालसम्म रोगको पहिचान र निदान हुन सकेको छैन।

२१ वर्षपछि मौरीपालन व्यवसायमा लागेका नारायण चौलागाई मौरीमा देखिएको अज्ञात रोग पत्ता लगाउन नसकेको वताउँछन । ‘यहाँ मौरीको रोग परिक्षण गर्ने ल्याव पनि छैन, विशेषज्ञ पनि छैन,’ उनले भने, ‘अहिले मौरी लोप हुने अवस्था छ। यहाँका किसानले गरिरहेको बिकल्पका कुनै पनि उपचार विधीले काम गरेको छैन।’ यहि अवस्था हिउँदमा पनि निरन्तर भए ८० प्रतिशत मौरी मर्न सक्ने खतरा उनले देखेका छन्।

मौरीको बार्षिक क्यालेण्डर अनुसार बैशाख र जेठ महिनामा हुल छुट्नु पर्नेमा यो वर्ष छुटेन । लामो वर्षाको कारण मह उत्पादन दिन सकेन नत आहरा नै जम्मा गर्न सक्यो । जाडोको ६ महिनाको खाना स्टोर गर्नु पर्नेमा यहाँको मौरीले एक महिनाको लागि पुग्ने आहरासमेत संकलन गर्न सकेको छैन ।
मौरी प्रशिक्षक समेत रहेका नारायण चौलागाई सक्रिय किसानले चिनी चास्नी दिएर बीउ बचाउन सक्ने अवस्था रहेकोले मौरीको रेखदेखमा जोड दिन आग्रह गर्छन।

‘तिला गाउँपालिकाको सापुल्ली र नुवाकोट गाउँमा मह परिक्षण गर्न जादा मौरी निकै संकटमा परेको देखें,’ उनले भने, ‘खनमुनाको परिक्षण गर्दा घारको तौल मात्रै छ, महको तौल छैन । किसानमा निराशा छ, सरोकारवालाले वास्ता गरेका छैनन। ”

मह निकाल्ने सिजन कार्तिक १ देखि हो। जुम्लामा एपि सेराना सेराना जातको मौरीपालन गरिन्छ ।अज्ञात रोगको पहिचानका लागि किसानहरुले मौरी विकास केन्द्रबाट विशेषज्ञ वोलाउन माग गरेका छन। रोगको समयमै पहिचान गरि निदानका उपाय अवलम्वन गर्दा मूल विउ बचाउन सकिने अवस्था छ। अन्यथा जुम्लावाट मौरीपालन लोप हुने देखिएको स्थानीय मौरीपालक किसान वताउँछन।

भिटामिन वि कम्प्लेक्स, एन्टीवायोटिक, चिनि चास्नी, घारको सफाई लगायतको प्राकृतिक उपचार पनि किसानले अवलम्वन गरिसकेका छन । तर भरपर्दो नतिजा कुनै उपचार विधीवाट पनि आउन सकेन।

जिल्ला कृषि विकासक कार्यालयको तथ्यांकअनुसार जुम्लामा झण्डै ५ हजार मौरी घार छन। एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा मौरीपालन गरिदै आएको छ। यहाँ वार्षिक रुपमा मौरीपालनवाट यहाँका किसानले तिन करोड सम्मको आम्दानी गर्छन। यो सवै नोक्सान भईसक्यो।

कृषि ज्ञान केन्द्र जुम्लाका अर्थ विज्ञ वालकराम देवकोटा मौरीमा देखिएको अज्ञात रोगको विषयमा जानकारी नभएको बताउँछन। उनल् भने,“यहा मौरी विशेषज्ञ पनि छैन्न,ल्याव पनि छैन, रोग लागेको विषयमा कुुनै जानकारी पनि छैन।’ कृषि ज्ञान केन्द्रमा मौरीको रोगको विषयमा जानकारी आएमा मौरी विकास केन्द्रमा पहल थालिने उनको भनाई छ।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments