प्याज खेती प्रविधि

परिचय
प्याज प्रमुख मसालाजन्य तरकारी वाली हो । बाथको रोग, पाचन प्रक्रिया र घाऊको लागि उपयोगी हुन्छ । यसमा स्टार्च, प्रोटिन, भिटामीन ‘बी’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ ।

प्याज (Onion) को उत्पादन प्रति रोपनि कति हुन्छ र गानो प्याज उत्पादन र हरियो सागको लागि लगाइएको कुन बाट वढी फाइदा लिन सकिन्छ ?

प्याज खेती गर्दा यसलाई अपनाउनु पर्ने विधिहरु राम्ररी अपनाएको खण्डमा २०००–३००० के.जी. प्रति रोपनी उत्पादन हुन्छ । खुद नाफाको हिसावले हेर्ने हो भने वेमौसममा सेट प्रयोग गरी लगाइएको हरियो साग उत्पादन वाट दोब्बर वढी फाइदा लिन सकिन्छ ।

वाली उत्पादन उपरान्त नोक्सानी हुने कारण के के हुन सक्दछन् ?

प्याजको गानोमा प्रशस्त मात्रामा चिस्यान रहने हुनाले उपयुक्त रुपमा भण्डारण गर्न सकिएन भने छिट्टै नोक्सानी हुन्छ । विशेषत पूर्ण नछिप्पिएका, चोट पटक लागेका र हावाको संचार राम्रो नहुने ठाउँमा भण्डारण गरिएको खण्डमा वढी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।

प्याज भण्डार आलु भण्डारमा के भिन्नता छ ?

प्याज भण्डारण गर्दा सुख्खा, चिसो तथा हावा संचारको पूर्ण संयोजन हुनु पर्दछ।जो आलु भण्डारणको प्रविधि भन्दा फरक छ ।

प्याज काट्दा पिरो ग्याँस फैलिन्छ किन ?

प्याजमा एक किसिमको एलिनोज नामक इन्जाईम हुन्छ जसको माध्यमवाट साइनो प्रोपानेथियल एस अक्साईड नामक ग्यास वन्छ जुन हावा मार्फत आँखामा पुग्छ र पिरो भई आँखा पोल्दछ।

प्याज भण्डारणमा छिट्टै उम्रने÷टुसाउने कारण के हो र यसबाट बच्न के उपाए गर्न सकिन्छ ?

प्याजको गानाहरु जीवित भएकोले स्वास प्रश्वास क्रिया जारी नै रहन्छ र गानोमा पानीको मात्रा रहेकोले सूर्यको प्रकाश पाउनासाथ टुसाउन थाल्दछ । टुसाउनबाट वच्नको लागि सके सम्म अँध्यारो कोठा तथा वाली खन्नु अगावै मेलिक हाइड्राजाईडको प्रयोग गर्न सकिन्छ ।

प्याज विक्री गर्नु अगाडी कसरी प्याकिङ्ग गर्नु पर्दछ ?

प्याज विक्री गर्नु अगाडी हावा छिर्ने जुटको वोरामा प्याकिङ्ग गर्नु उपयुक्त हुन्छ ।

प्याजलाई कसरी कसरी भण्डारण गर्न सकिन्छ ?

प्याजलाई सुख्खा, चिसो तथा हावा संचार हुने किसिमको भण्डार घर चाहिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको वोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।


मेलिक हाईड्राजाईडको प्रयोग किन र कसरी गरिन्छ ?

प्याजको गाना तयार हुनु भन्दा २ हप्ता अगाडि नै प्याजको वोटमा मेलिक हाईड्राजाईड नामक रसायन २५०० पि.पि.एम.प्रति लिटर पानीमा मिसाई छरेमा भण्डारणमा प्याज उम्रने प्रकृया अवरुद्ध हुन्छ जसले प्याजको भण्डारण अवधि बढाँउदछ साथै प्याजको गुणस्तर निर्धारण गर्न मद्दत गर्दछ ।

प्याज सुकाउने (Curing) भन्नाले के बुझिन्छ ? यो विधि कसरी अपनाईन्छ ?

प्याज खनीसकेपछि हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाउन जरुरी हुन्छ जसलाई सुकाउने वा क्युरिङ्ग भनिन्छ । प्याजमा भएको अत्याधिक चिस्यान घट्न गई प्याज खँदिलो, सानो तथा वाहिरको वोक्रा सुख्खा तथा पातलो भई भण्डारण गर्न सहज हुन्छ ।

प्याज खन्नु भन्दा अगाडी कुन–कुन उपाय अपनाउँदा लामो समय भण्डारण गर्न सकिन्छ ?

प्याजलाई लामो समय सम्म भण्डारण गर्न सकियोस भन्नका लागि खन्नु भन्दा १५–२० अगाडि देखि सिचाई नगर्ने प्याज गानो छिप्याउँछन् पात पहेँलिन शुरु भएपछि हात खुट्टा वा ड्रमको सहायताले १०–१५ दिन अगावै वोट मर्काइ दिने तथा खन्दा खेरी चोट पटक नलगाई र राम्ररी सुकाएर भण्डारण गर्नु पर्दछ जसले गर्दा प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ।

प्याज खेतीमा मलखाद व्यवस्थापन कसरी गरिन्छ ?

प्याज खेतीमा मलखाद व्यवस्थापनको लागि १०००–१५०० के.जी. गोवरमल, १०–१२ के.जी. नाइट्रोजन, ७–८ के.जी. फस्फोरस तथा ३–४ के.जी. पोटासियम प्रति रोपनी आवश्यक पर्दछ । यस वाहेक विरुवा वर्धक रसायनहरु पनि प्रयोग गर्न सकिन्छ ।

प्याजमा लाग्ने रोगहरु व्यवस्थापन गर्न प्रयोग गरिने घरायसी विधिहरु के के छन् ?

प्याजमा लाग्ने रोगहरु व्यवस्थापन गर्न सर्वप्रथमत घुम्ती वालीमा वढी ध्यान दिनु पर्दछ । प्याज लागएको खेतीवारीमा सिचाई र निकासको राम्रो प्रवन्ध गर्ने र नीम, गहुत बोजो जस्ता वस्तुहरु प्रयोग गरी वनाइएका पदार्थ वेला वेलामा प्रयोग गर्नु धेरै रोगहरु व्यवस्थापन गर्न सकिन्छ ।

प्याज खेतीमा कीराहरुको जैविक विधिवाट कसरी व्यवस्थापन गर्न सकिन्छ ?

प्याजमा देखा पर्ने थ्रिप्स, लाही जस्ता कीराहरुलाई घरमा तयार गरिएको नीम, वोझो, गाईको गहुत आदिको मिश्रण वेला–वेलामा स्प्रे गर्न सकेमा कीराहरु भगाउन सकिन्छ।यस वाहेक वजारमा निममा आधारित जैविक विषादीहरु पनि उपलब्ध छन् ।

प्याज खेती सम्वन्धि समस्या आइपर्दा कुन कुन निकायहरुमा सम्पर्क गर्नु पर्दछ ?

प्याज खेती गर्दा आईपर्ने समस्याको समाधान हेतु सम्पर्क गर्नु पर्ने पहिलो निकाय भनेको जिल्ला कृषि विकास कार्यालयन नै हो। त्यस वाहेक पनि सरकारी फार्म केन्द्र, तरकारी विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान परिषद जस्ता निकायहरुमा सम्पर्क गर्न सकिन्छ।

व्याक्टेरियल नरम सडन (Bacterial Soft Rot) कुन अवस्थामा लाग्दछ र यसका व्यवस्थापन विधिहरु के के छन् ?

यो रोग भण्डारणमा गानाको माथिल्लो भाग सड्न गई दुर्गन्धित हुन्छ । यो रोग वढी आर्दता भएको ठाउँमा फैलन्छ र यसवाट वचतको लागि भण्डारण गर्नु अगाडि राम्ररी सुकाउने, चोटपटक नलगाउने र चोट पटक लागेका छन् भने भण्डारण गर्नु अगाडी नै हटाउनु पर्दछ । भण्डारण घर सुख्खा, चिसो र हावा खेल्ने हुनपर्दछ ।

प्याजमा लाग्ने डाउनी मिल्डयु (Downy Mildew) रोग कस्तो वातावरणमा वढी फैलन्छ र कसरी व्यवस्थापन गर्न सकिन?

यो रोग उच्च आद्र्रता भएको क्षेत्र वा वातावरणमा वढी फैलन्छ । यसको आक्रमणबाट पात र फूलको डाँठलाई वैजनी रंगको ढुसी विकास हुन्छ र पछि हरियो, पहेँलो रंगमा परिणत भई पात र डाँठ निस्तेज भई भाचिन्छ र यसको व्यवस्थापन गर्न ०.२ प्रतिशत जिनेव छर्नुपर्दछ ।

प्याजको वैजनी धब्वा (Purple Blotch) रोगको लक्षण कस्तो हुन्छ र यसको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

यसको आक्रमणबाट पातमा वैजनी रंगको केन्द्र भएको साना सेतो दागहरु देखिन्छन् र ती दागहरु विकसित भई पात र फूलको डाँठलाई घेर्दछन् फलस्वरुप पात र डाँठ सुक्दछन् । यसको रोकथाम गर्न ०.२५ प्रतिशत डायथिन एम–४५ स्प्रे गर्न सकिन्छ र प्रभावकारी पाइएको छ ।

प्याज वालीमा देखा पर्ने मूख्य–मूख्य कीराहरु कुन कुन हुन र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

प्याज वालीमा लाग्ने मूख्य कीरा थ्रिप्स नै हो । यसले गर्दा पातमा सेता तथा पहेला धब्वाहरु देखिन्छन् तथा पात खुम्चिने र मर्ने गर्दछन् । यस वाहेक उफ्रने खपटे, लाही, सुलसुले जस्ता कीराले पनि दुःख दिन्छन् । जैविक विषादीहरुवाट रोकथाम हुन नसकेमा मालाथायन रोगर थायोडान, नुभान जस्ता विषादीहरु २ मि.लि. प्रति लिटर पानीका दरले स्प्रे गर्दा यि कीराहरुको ब्यवस्थापन गर्न सकिन्छ ।

प्याज वालीमा सिचाई र निकासलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?

मौसम तथा माटोको चिस्यान हेरी ५–७ दिनको फरकमा सिचाई दिनु पर्दछ । प्याजलाई पानीको आवश्यकता अन्य वालीलाई भन्दा वढी हुन्छ । वाली अवधिभर १०–१२ पटक सिचाई दिनु पर्दछ तर निकासको व्यवस्था पनि त्यतिकै जरुरी हुन्छ । प्याज उखेल्ने १५ दिन अगाडी सिचाई वन्द गर्नु पर्दछ ।

प्याज खेतीमा आउने झारहरुको व्यवस्थापन कसरी गरिन्छ ?

पटक पटक सिचाई गर्नु पर्ने हुँदा प्याजवालीमा वढीनै झारपात पलाउँदछ । अतः वाली अवधि भरमा ४–५ पटक झारपात उखेल्नु पर्दछ । झारनाशक विषादी वसालिनको पनि प्याज खेतीमा प्रयोग गर्न सकिन्छ ।

प्याज खेती गर्दा गोडमेल कसरी र कति पल्ट सम्म गर्नु पर्दछ ?

प्याज हुर्कने वेलामा झारपात नियन्त्रण गर्ने र माटोलाई पनि हलुका पानीको लागि गोडमेलको जरुरत पर्दछ । प्याज सारेपछि ३–४ पटक सम्म गोडमेल गर्नु पर्दछ फलस्वरुप माटो हलुका भई गानो ठूलो हुन्छ ।

प्याजलाई राम्रो बृद्धि गराउन कुन कुन विरुवा वर्धक रसायनहरुको प्रयोग गर्न सकिन्छ ?

प्याजलाई राम्रो वृद्धि गराउन माटोमा प्रयोग गरिएका मुख्य तत्वहरु वाहेक अन्य विरुवा बर्दक रसायनहरु जस्तै भेजिमेक्स आधा र २ मि.लि. प्रति लिटर पानीका दरले, एग्रोमिन ५ ग्राम प्रति लिटर पानीमा मिसाई सात दिनमा १ पटक स्प्रे गर्दा विरुवाको वृद्धि राम्रो भई उत्पादनमा वृद्धि हुन्छ ।

जैविक विषादी भनेको के हो ? यसको प्रयोगबाट के के फाईदा हुन्छ ?

नीम, गहुँत, असुरो वा गन्ध आउने वस्तु प्रयोग गरी घरायसी वा प्रशोधन विधि द्धारा वनाईएको वाली वा पशुहरुमा यिनका शत्रु विरुद्धमा प्रयोग गरिने पदार्थलाई जैविक विषादी भनिन्छ । यसका अवशेषहरु (Residues) लामो अवधिसम्म नरहने हुँदा मानव स्वास्थ्यको हिसावले लाभदायक हुन्छन् ।

प्याज खेती गर्दा खाद्य तत्वहरुको के महत्व छ र कुन तत्वको वढी आवश्यकता पर्दछ ?

प्याज खेती गर्दा खाद्यतत्वको ज्यादै महत्वपूर्ण स्थान रहन्छ । जग्गा तयारीको वेलामा लगाएको मलखाद वाहेक विरुवा राम्ररी सरेपछि पहिलो पटक ३०–४० दिन भित्र मल्टिप्लेक्स वा २ एम एल एग्रोमिन प्रतिलिटर पानीमा मिसाई १५–१५ दिनको फरकमा ४ पटक छर्नु पर्दछ । प्याजमा विशेष गरी जिंक र कपरको कमी हुने हुनाले यी तत्वहरु आधा के.जी. जिंक तथा १ के.जी. कपर प्रति रोपनीका दरले हाल्न सिफारिस गरिन्छ ।

प्याजको सेट (वीऊ प्याज) कसरी उत्पादन गरिन्छ ?

प्याजको वीउ छरी वेर्ना तयार गरिन्छ र तीनै वेर्नावाट आवश्यकता अनुसार गाना वा सेट तयार गरिन्छ । सेट तयार गर्न वेर्ना तयार गर्न भन्दा पातलो गरी वीउ छरिन्छ । सेटवाट विशेषत हरियो साग खानको लागि रोपिन्छ ।

वेमौसमी प्याज खेती गर्न कुन तरीका अवलम्वन गर्नु पर्दछ ?

वेमौसमी प्याज खेती गर्न सेट उत्पादन गर्दा पनि प्याजको हिँउदे नर्सरी राखेजस्तै राख्ने हो तर वीउ भने निकै पातलो छर्नुपर्दछ तथा मलखादको मात्रा पनि वढाउनु पर्दछ । २–३ ग्रामको सेट रोप्ने हो भने ६०–७५ के.जी. प्याजको सेट प्रति रोपनी क्षेत्रफलको लागि आवश्यक हुन्छ।

यसको खेती कति प्रकारले गर्न सकिन्छ ? कुन तरिकाले खेती गर्दा वढी उत्पादन लिन सकिन्छ?

साधारणतया प्याजको तीन प्रकारले खेती गरिन्छः सोझै पातलो वीउ छरेर, वेर्ना उमारी उचित दूरीमा वेर्ना सारेर तथा पहिले प्याजका साना साना सेट तयार गरी उक्त सेटवाट प्याजको खेती गरेर । प्याजको सेटवाट गरिने खेती विशेषत वेमौसममा गरिन्छ ।

प्याज खेती गर्दा जग्गाको तयारीमा कतिको ध्यान दिन आवश्यक हुन्छ ?

प्याज खेती गर्दा गानो वाली भएको कारणले अन्य तरकारी वालीमा भन्दा विशेष ध्यान दिनु पर्दछ।राम्रो सँग खन् जोत गरी २५–३० से.मि. सम्म माटो मिहिन पारी आवश्यक मात्रामा मलखाद राख्नुपर्दछ ।

प्याजको वेर्ना आफै उत्पादन गर्न कुन–कुन कुराहरु ध्यान दिनु पर्दछ ?

प्याजका वेर्ना आफै तयार गर्न १ मिटर चौडाई, ३ मिटर लम्वाई, १०–१५ से.मि. उचाई भएको व्याडमा ५–७ से.मि. को फरकमा कुलेसो वनाई वीउ खसाल्नु पर्दछ त्यसपछि छापो हाल्ने र वीउ उम्रेपछि सो छापो हटाउनु पर्दछ ।

प्याजका जातहरु कस्ता कस्ता रंगका पाईन्छन् ?

नेपालमा प्रचलित जातहरु राता, सेता र पहेँला छन् ।

यसको खेतीका लागि कति विउदर प्रति रोपनि आवश्यक हुन्छ ?

प्याजखेती गर्दा करीव २ महिना अगाडि नै वीउ हुनुपर्दछ । एक रोपनी जमीनको लागि ५०० ग्राम वीउ भए पुग्दछ ।

प्याज खेतीका लागि कस्तो स्थान उपयुक्त हुन्छ ?

प्याज खेतीको लागि स्थल छनौट गर्दा पारिलो विहान देखिनै घाम लाग्ने जग्गा छनौट गर्नु पर्दछ।प्याजको वोट वृद्धि भन्दा गानो लाग्नलाई वढी तापक्रम जरुरत पर्दछ ।

प्याजको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

प्याजको खेती जुनसुकै मलिलो, पानीको राम्रो निकास भएको, हलुका दोमट माटोमा गर्न सकिन्छ।यसको राम्रो उत्पादन लिन ६.० देखि ६.८ पि.एच. मान भएको माटो उपयुक्त हुन्छ ।

नेपालमा व्यवसायिक रुपमा प्याजको वीउ कहाँ उत्पादन गरिन्छ ? यसको उपलब्धता कहाँ–कहाँ छ ?

नेपालमा प्याजको वीऊ व्यवसायिक रुपमा रुकुमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र तथा आसपासका गा.वि.स.हरुमा उत्पादन भइरहेको यस क्षेत्रमा विशेषता रेड क्रियोल जातको वीउ उत्पादन हुन्छ र सो वीउ काठमाडोँ क्भ्ब्ल् तथा विभिन्न एग्रोभेटमा पाईन्छ ।

भौगोलिक क्षेत्रका आधारमा लगाइने प्याजका कुन–कुन जातहरु उपलब्ध छन् ?

नेपालमा प्रचलित प्याजका जातहरुमा रेड क्रियोल, पुसा रेड, नासिक रेड, नासिक ५३, एगृ फाउण्ड डार्क रेड हुन् । यी सवै जातहरु तराई र मध्यपहाडमा लगाउन सकिन्छ भने उच्च पहाडको लागि रेड क्रियोल एउटा मात्र जात सिफारीस गरिएको छ ।

प्याज खेतीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ?

प्याज चिसो मौसम/हिँउदमा हुने वाली हो । विरुवाको विकासको लागि कम तापक्रम राम्रो हुन्छ भने गानोको विकास हुन तापक्रम केही वढी चाहिन्छ । यसको खेती फस्टाउन तापक्रम, प्रकाश तथा दिनको लम्वाइले विशेष भूमिका खेलेको हुन्छ ।

Leave a Reply

Your email address will not be published.