बागमतीका सामुदायिक विद्यालयमा हरित प्राङ्गण अभियान सुरु

वृक्षरोपण

सर्लाही:बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने अभियान सुरु गरिएको नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार “बागमती नगरको अभियान,हरित विद्यालय प्राङ्गण”भन्ने मूल नाराकासाथ नगरका सबै सामुदायिक विद्यालयको प्राङ्गणमा फलफूल र अन्य हरियाली हुने बिरुवा रोपिएको हो ।

नगरका सबै सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक, विद्यालय व्यावस्थापन समिति र नगरका जनप्रतिनिधिको सहभागीतामा बागमती नगरपालिका २ मा रहेको जनवाल कल्याण माविको प्राङ्गणमा वृक्षरोपण गरेर अभियान सुरु गरिएको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिनुभयो । नगरपालिकामा कार्यरत सरकारी सेवा सुविधा लिने सरकारी कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पठाउनुपर्ने बाध्यकारी नियम बनाउनाका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, शिक्षिकालाई विभिन्न प्रकारका तालिम प्रदान, बालमैत्री भौतिक संरचना निर्माणलगायत काम गरिएको उहाँले बताउनुभयो ।

उपप्रमुख लीलाकुमारी मोक्तानले पछिल्लो समय वनजङ्गल मासिदै गएको र यसको असर मानिसमा पनि पर्न थालेकाले विद्यालय क्षेत्रबाट पहिलो चरणमा हरित अभियान सुरु गरिएको हो ।

सामुदायिक विद्यालयमा “पढ्दै कमाउँदै, प्राविधिक शिक्षामा जोड,बालमैत्री र कोरा किताबी भन्दा पनि विद्यार्थीलाई हँसाइ–खेलाई सिक्ने बनाउने” लगायत अभियान सञ्चालन गरिरहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । उक्त अभियानका कारण पछिल्लो समय निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको नगरपालिकाको शिक्षा शाखाका ओमबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरभित्रका सामुदायिक विद्यालयमा गत शैक्षिक सत्रको तुलनामा यस शैक्षिक सत्रमा विद्यार्थीको भर्ना चाप दोब्बरले बढेको छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments