आरनको कामबाटै परिवार पाल्दै ननबहादुर
गल्याङ:गाउँमा एक सयभन्दा बढी गाउँलेका कृषि औजार निर्माण गर्दै आउनुभएका स्याङ्जाको चापकोट नगरपालिका–७, साँखर खासामा ननबहादुर विश्वकर्माको टिनले छाएको चिटिक्क परेको घर छ । घर नजिकै टिनैले छाएको सानो आरन पनि छ । उहाँ भालेको डाँकोसँगै बिहानै उठेर आरनमा आगो फुक्न थाल्नुहुन्छ । बिहानदेखि राति अबेरसम्म फलामका परम्परागत कृषि औजार अर्जापतिखार गर्नुहुन्छ ।
आरनको व्यवसायलाई २३ वर्षदेखि परिवार पाल्ने माध्यम बनाउँदै आउनुभएका नरबहादुरले आरनको कामबाटै पाँच÷सातजनाको परिवारलाई राम्रौसँग पाल्दै आउनुभएको छ । पछिल्लो समय आरन व्यवसाय लोपोन्मुख अवस्थामा पुगेपनि कृषकका लागि परम्परागत कृषि औजारको महत्व भने घटेको छैन ।
भाँचिएमा, धार गएमा वा नयाँ आवश्यक परेमा मर्मत गर्न आरनको आवश्यकता पर्छ । स्याङ्जाका कतिपय स्थानमा आरन पेसा गर्नेहरु पलायन हुँदै गएका छन् तर कृषकका लागि अनिवार्य भएकाले केही बूढापाकाहरुले भने यो पेसालाई निरन्तरता दिइराखेका छन् ।
बुबा हिमलालको ६८ वर्षको उमेरमा निधन भएपछि आरन समाल्ने जिम्मा ननबहादुरको काँधमा आयो । उहाँले बुबाको निधनपश्चात् हँसिया, बञ्चरो, कोदाली, कुटो, फालीलगायत सामान अर्जापतिखार गर्ने र नयाँ बनाउने काम गर्न थालेको जानकारी दिनुभयो ।
पूरा अर्चाप्ने र नयाँ बिक्री गरेर सिजनअनुसार मासिक रु ३०हजार देखि रु ६० हजारसम्म कमाउने गर्नुभएका ननबहादुरले भन्नुभयो, “कोदाली, सानो हँसिया अर्चापेको रु ५० ज्याला लिने गरेको छु र ठूलो हँसिया, बञ्चरो अर्चापेको रु एक सय लिने गरेको छु ।”
नयाँ बञ्चरो रु चार हजार पाँच सय, हँसिया रु चार सय, कोदाली रु दुई हजार पाँच सयदेखि रु तीन हजार पाँच सयसम्मा बिक्री गर्ने गरेको र साँखरवासीले माया गरेर सामुदायिक वनमा आफूलाई निःशुल्क रुपमा कोइला (गोल) बनाउन दिएको उहाँको भनाइ थियो ।
ननबहादुरको कामलाई २३ वर्षीया छोरी सञ्जुले पनि साथ दिँदै आएकी छन् । बुबासँगै घन पिट्ने, हँसियामा रेती लगाउने, हँसिया कछेट्ने र पाइन हाल्नमै उनको पनि दिन बित्छ ।
“छोरीले काममा सघाउन थालेदेखि मलाई निकै आराम मिलेको छ”, ननबहादुरले भन्नुभयो, “कहिलेकाहीँ छोरीलाई दुःखको काममा लगाएर अपराध गरेछु जस्तै लाग्छ तर घन पिट्न सहयोग गर्ने कोही नभएकाले छोरीलाई काममा गराउन बाध्य छु ।”
उहाँले बुबाको पालामा बालीमा काम गरिए पनि आफूले ज्याला लिने गरेको बताउनुभयो । आरन व्यवसाय टिकाउन श्रीमती इमकुमारी पनि प्रेरणाको स्रोत बनेको ननबहादुरको भनाइ थियो ।
