दिनमा गुरुआमा, बिहान-बेलुका कर्मठ किसान : ‘विदेश हैन, स्वदेशमै छ भविष्य’

रसुवा –

जब अधिकांश युवाहरू रोजगारीका लागि विदेशिइरहेका छन्, रसुवाको उत्तरगया गाउँपालिका-३, पैरे गाउँकी गीता कुमारी घले भने आफ्नै माटोमा सुन फलाउन सकिन्छ भन्ने जीवन्त उदाहरण बनेकी छिन्। उनी पेसाले शिक्षिका हुन्, तर उनको परिचय यतिमा मात्र सीमित छैन। कक्षाकोठामा अक्षर चिनाउने उनका हातहरू बिहान-बेलुका बारीमा कृषि कर्ममा पनि उत्तिकै व्यस्त रहन्छन्।

“फुर्सदको समय किन खेर फाल्ने? समयको सदुपयोग गर्नुपर्‍यो भनेरै यो काममा लागेकी हुँ,” बारीमा लगाएको अदुवा गोड्दै गर्दा उनले मुस्कुराउँदै भनिन्। गीताको यो भनाइले उनको लगन र मिहिनेतलाई प्रष्ट पार्छ। उनले आफ्नो बारीमा यस वर्ष ५० केजी अदुवाको बीउ रोपेकी छिन्। योभन्दा अघि मकै खेती हुने बारीमा अहिले लहलहाउँदो अदुवाले हरियाली थपेको छ।

गीताको यो कृषि यात्रामा विभिन्न संस्थाहरूको पनि साथ रहेको छ। उनले हालको अदुवा खेतीका लागि हेफर संस्थाबाट ५० प्रतिशत अनुदानमा बीउ प्राप्त गरेकी हुन्। “हेफरले हामी महिला दिदीबहिनीलाई व्यावसायिक बनाउन सहयोग गरेको छ, बीउ लिन कतै जानु परेन, गाडीले घरमै ल्याइदियो,” उनले खुसी हुँदै सुनाइन्। यसअघि उनले गाउँपालिकाबाट बेसार खेती र बाख्राको खोर सुधारका लागि पनि सहयोग पाएकी थिइन्। अदुवा खेतीसँगै उनले बाख्रा र लोकल कुखुरा पालनलाई पनि निरन्तरता दिएकी छिन्, जसले उनको आयआर्जनलाई थप बलियो बनाएको छ।

गीताको जीवनशैलीले गाउँका अरूलाई पनि प्रेरणा दिएको छ। उनी भन्छिन्, “विदेशमा अर्काको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा मिहिनेत गरे केचाहिँ नहुने रहेछ र ?” उनको यो प्रश्नले विदेश जान लामबद्ध युवाहरूलाई एकपटक सोच्न बाध्य बनाउँछ। आफ्नो गाउँका धेरै युवाहरू रोजगारीका लागि विदेशिएको देख्दा उनलाई दुःख लाग्छ र उनी आफ्नै कर्ममार्फत स्वदेशमै सम्भावना छ भन्ने सन्देश दिन चाहन्छिन्।

यदि यस वर्ष अदुवाबाट राम्रो आम्दानी भएमा उनले यसलाई अझै विस्तार गर्ने योजना बनाएकी छिन्। गीता कुमारी घले केवल एक शिक्षिका वा किसान मात्र होइनन्, उनी आफ्नो समुदायका लागि एउटा जीवन्त प्रेरणा हुन्। उनको कथाले देखाउँछ कि इच्छाशक्ति, लगनशीलता र उपलब्ध स्रोतसाधनको सही सदुपयोग गर्न सके स्वदेशमै सुन फलाउन सकिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?