‘हाम्रै गाई पर्याप्त छन्’

काठमाडौँ — आफ्नो सञ्जालमार्फत दैनिक ८ लाख लिटर हाराहारी दूध डेरी उद्योगहरूमा बिक्दै आएको दाबी गर्ने केन्द्रीय दुग्ध सहरकारी संघले चीनबाट १० हजार गाईसहितको प्रविधि आयात गर्ने सरकारको निर्णयको विरोध गरेको छ ।

संघको कार्यसम्पादन समितिले बुधबार काठमाडौंमा बैठक गरी तत्काल चिनियाँ गाई आयात गर्न नहुने निर्णय गरेको संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले कान्तिपुरलाई बताए ।

‘हाम्रो देशमा सुक्खा सिजनमा पनि दूध बढी उत्पादन भएर मिल्क होली–डे हुन थालेको छ,’ अध्यक्ष देवकोटाले भने, ‘यो निर्णयले नेपाली पशुपालक किसान मर्छन् ।’ नेपाली किसानले अहिले पनि बजार र उपयुक्त मूल्य नपाएको जनाउँदै उनले थपे, ‘सरकारले यो निर्णय तत्काल सच्याउनुपर्छ ।’

हेटौंडाको गढीस्थित सृजना दुग्ध सहकारी संस्थामार्फत १ हजार ८ सय ५७ वटा दूध उत्पादन गर्ने सहकारीहरूको केन्द्रीय छाता संगठनमा अध्यक्ष चुनिएका देवकोटाले पछिल्ला दुई वर्षयता नेपालमा वार्षिक १० प्रतिशतका दरले दूध उत्पादन बढेको तथ्यांक देखाए । सरकारले चलाइरहेको कृत्रिम गर्भाधान सेवा वार्षिक ६ लाख गाईमा भइरहेको उल्लेख गर्दै उनले चीनबाट तत्काल गाई आयत गर्न नपर्ने जिकिर गरे ।

संघको विश्लेषण गरेअनुसार पशु सेवा विभाग मातहतका कार्यालयहरूले वार्षिक देशभर ६ लाख गाईमा कृत्रिम गर्भाधानगर्दा ४ लाख गाई गर्भिणीहुन्छन् । तीबाट २ लाख बाच्छी र दुई लाख बाच्छा जन्मिन्छन् । जसमध्ये एक लाख बाच्छी २६ महिनापछि दूध दिने अवस्थामा पुग्छन् ।

‘२६ महिनामा एक लाख गाई हाम्रै थपिरहेका छन्,’ अध्यक्ष देवकोटाले भने, ‘पछिल्ला दिन असंख्य मात्रामा बाच्छाहरू सडकमा देखिन्छन् । यिनकै व्यवस्थापन सरकारले गर्न सकेको छैन, किन चाहियो चिनियाँ गाई ?’

संघको कार्य सम्पादन समितिमा रहेका अध्यक्ष देवकोटासहित, वरिष्ठ उपाध्यक्ष अमर कुँवर, उपाध्यक्ष रामेश्वर पोखरेल, महासचिव राम आचार्य, सचिव टीकाबल्लभ सापकोटा र कोषाध्यक्ष कृष्ण सापकोटाले तत्काल गाईआयात गर्न नहुने निर्णय गरेका हुन् । ‘पहिलो चरणमा संघ र प्रदेश सरकारको ध्यानाकर्षण
गराउनेछौं,’ सचिव सापकोटाले भने । यदि सुनुवाइ नभए दोस्रो चरणमा पूरै केन्द्रीय कमिटीको बैठकमा यस विषयलाई प्रवेश गराउँदै मंसिर ६ गते हुने साधारण सभाको मूल विषयवस्तु यसैलाई बनाउने संघले भनेको छ ।

अहिले ४६ जिल्लामा यसका दूध उत्पादन गर्ने १ हजार ८ सय ५७ सहकारी सदस्य छन् । यीबाट संकलन हुने दूधमध्येबाट काठमाडौंमा दैनिक ५ लाख लिटर प्रोशोधित (पाउच) दूध बिक्री हुन्छ । यसबाट दैनिक करिब ३ करोड रुपैयाँ हरेक बिहान सहरबाट गाउँका किसानमा जान्छ । काठमाडौंमा ३० वटा दुग्ध प्रशोधन गर्ने उद्योग छन् । यिनले ४२ वटा ब्रान्डमा दैनिक ५ लाख लिटर दूधलाई १० लाख पाउचमा बिक्री गर्छन् ।

यसैबीच चीनबाट गाई ल्याउने अभियानमा संलग्न दोलखास्थित कालिञ्चोक गाई फर्मका सञ्चालक रामकुमार श्रेष्ठले चीनबाट गाई नल्याई प्रविधि ल्याउने तयारी भइरहेको दाबी गरे । ‘गाईको आहारा, नश्ल सुधार, उत्पादन, प्रशोधन आदि विषयसँग जोडिएको प्रविधि ल्याउने तयारी भइरहेको छ, ३२ अर्बका १० हजार गाई ल्याउने निर्णय भइसकेको छैन,’ डेरी एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘कुन मोडलमा कसरी प्रविधि ल्याउनेबारे विस्तृत अध्ययनपछि मात्रै यकिन हुनेछ ।’

उनले पुष्पकमल दाहाल प्रधानमन्त्री भएका बेला भएको चीन भ्रमणमा यस विषयमा निर्णय भएको बताए । त्यस्तै ०७१ मंसिरमा सरकारले भारतबाट १० हजार गाई ल्याउने तयारी गरेको थियो । काठमाडौंस्थित भारतीय दूताबासले त्यसताका कृषिमन्त्री हरि पराजुलीलाई ‘भारतको केन्द्रीय कानुनमा कुनै पनि स्थानीय जैविक विविधता निर्यातमा रोक लगाइएको’ कारण देखाउँदै गाई दिन नसकिने जवाफ दिएपछि नेपाल गाई आयत गर्न चीनतर्फ मोडिएको थियो ।

त्यसबेला कृषिमन्त्री पराजुलीले सिच्वान प्रान्तबाट १० हजार गाई ल्याउने तयारी पूरा भएको घोषणा पनि गरेका थिए । त्यसलगत्तै मन्त्री पराजुलीको बर्खास्ती तथा सरकार परिवर्तनसँगै यो विषय ओझेलमा परेको थियो ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?