सहज बन्दै आलु खेती

दमक — अनुदान र मेसिनरीको प्रयोगबाट लागत घटेपछि झापाका किसान आलुको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । उनीहरूले यसपालि गत वर्षभन्दा दोब्बर क्षेत्रफलमा आलु रोपेका छन् ।

कमल गाउँपालिका ‘आलु पकेट’ क्षेत्र हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गत वर्षदेखि सुरु भएको पकेट क्षेत्रमा यस वर्ष ४० बिघा जमिनमा आलु रोपिँदै छ । गत वर्ष १८ बिघामा मात्र आलु खेती गरिएको थियो । गत वर्ष ३५ किसान आबद्ध रहेकामा यस वर्ष ६० जना किसानले आलु खेती सुरु गरेका छन् । किसानलाई आलु पकेट सञ्चालक समिति र आईपीएम कृषि सहकारी संस्थाले विभिन्न सहयोग गरेका छन् ।

किसानले धान भित्र्याएर लगत्तै अर्को बालीका लागि जमिन तयार पारेका हुन् । उनीहरूले टीपीएस, खुमल रातो, डेडिरे, कानपुरे र कार्डिनल जातको आलु रोपाइँ गरिरहेका छन् । उनीहरूले मेसिनबाट आलु रोपाइँ गरिरहेका छन् । आलु पकेट सञ्चालक समितिले ‘पोटेटो प्लान्टर’ मेसिनबाट नि:शुल्क रूपमा किसानको खेतमा आलु रोपाइँ गरिदिएको छ ।

आलु रोप्नुअघि खेत जोत्न पनि सञ्चालक समितिले किसानलाई प्रति बिघा ३ सय रूपैयाँका दरले अनुदान दिएको थियो । आलु फलेपछि खन्ने कार्य पनि सञ्चालक समितिले हार्बेस्टर मेसिनबाट नि:शुल्क गरिदिने समिति अध्यक्ष यामबहादुरराईले बताए ।

उत्पादन भएपछि किसानको आलु बिक्री गर्न पनि सञ्चालक समिति र आईपीएम कृषि सहकारीले समन्वय गरिदिने सहकारीका सहजकर्ता टंक कट्टेलले बताए । गत वर्ष ३५ जना किसानले जनही ५० हजारका दरले आलु बिक्री गरेका थिए ।

सञ्चालक समिति र सहकारीको पहलमा गत वर्ष किसानले न्यूनतम १८ रूपैयाँ केजीका दरले बजार मूल्य पाएको थियो । पकेट क्षेत्रमा उत्पादित सबै आलु नजिकैको केर्खा र दमक बजारमा खपत भएको अध्यक्ष राईले बताए ।

‘लागत पनि कम र आम्दानी पनि राम्रै भएपछि यसपाली फेरि आलु खेती गरेको हुँ,’ कमल २ का वडा सदस्य समेत रहेका दुर्गाप्रसाद पराजुलीले भने, ‘बिउ ५० प्रतिशत सहुलियमा पाए । आलु रोप्न र खन्न दुवै संस्थाले नि:शुल्क गरिदिने भएको छ । खेत जोप्न पनि अनुदान पाए । त्यसैले व्यावसायिक रूपमै आलु खेती गर्न सहज भएको हो ।’

मेसिनबाट आलु रोप्न तथा खन्न छिटो र छरितो हुने गरेको किसानको भनाइ छ । पोटेटो प्लान्टरले २० मिनेटमा एक कट्ठा जमिनमा आलु रोपाइँ गर्ने गरेको छ । मेसिन नभए एक कट्ठा जमिनमा आलु रोप्न ५ जना कामदारलाई एकदिन लाग्छ ।

‘एक दिन लाग्ने काम मेसिनले २० मिनेटमै सक्दोरहेछ,’ किसान गोविन्द श्रेष्ठले भने, ‘पकेट क्षेत्रअन्तर्गत ७५ प्रतिशत लागत घटेपछि गाउँका किसान आलु खेतीतर्फ आकर्षित भएका हुन् ।’ सञ्चालक समितिले यस वर्ष आलु रोपाइँ गरेका किसानमध्येबाट १० जनालाई बिउ आलु उत्पादनमा अघि बढाउने भएको छ ।

पकेट क्षेत्रका किसानले उत्पादन गरेको बिउ गाउँपालिकाभरीका किसानको खेतमा पुर्‍याउन आफूले पहल गर्ने गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले बताइन् । खेतीका लागि किसानले आफैंले उत्पादन गरेको जैविक मल प्रयोग गर्ने गर्छन् । उनीहरूले गाउँ घरमा पाइने झारपात प्रयोग गरेर मल र विषादी उत्पादन गरी बालीमा लगाउने गर्छन् । उनीहरूले रासायनिक मल प्रयोग गर्न छाडेका छन् ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?