अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

पर्वत: विभिन्न अन्न भुटेर–पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले–पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो ।

त्यही सातु अहिले विदेश निर्यात गर्न थालिएको छ । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको सातु युरोप, अमेरिका निर्यात गर्न थालेको हो । गाउँघरमा आयातित जङ्क फुडको प्रयोग बढ्दै जाँदा अन्नपातको प्रयोग घट्दै गएको छ । सरकारले नै बजेटको व्यवस्था गरेर सामुदायिक विद्यालयमा दिवा खाजामा जङ्क फुड निषेध गरेको छ ।

स्थानीयस्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित भएका छन् । मकै, भटमास, गहुँ, जौँलगायत अन्न प्रशोधन गरी तयार पारेको सातु विभिन्न मुलुकमा निर्यात गर्दै आएको उद्यमी थानेश्वर भुसालले बताउनुभयो । उहाँले एक दशकदेखि लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीजस्ता परिकार विभिन्न मुलुकमा निर्यात गर्दै आएउनुभएको थियो । तिनै देशबाट मकै, भट्टको परिकारसमेत माग भएपछि ‘पोसिलो सातु’ नाम दिएर उत्पादन थालेपछि यसले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएको हो ।

“पहिला विदेश बस्ने नेपालीले कोसेलीका रूपमा लैजान्थे”, उहाँले भन्नुभयो, “त्यो देखेर त्यहाँका नेपाली सुपरमार्केटमा यसको माग भएपछि लप्सी, अदुवा र अमलाका परिकारसँगै सातु पनि पठाउन थालेको हुँ ।” नेपालका लघुउद्यम र उत्पादित वस्तुको बारेमा अध्ययन गर्न आएका विदेशी नागरिकले भुसालको उद्योगमै आएर काम सिक्ने र यहाँको उत्पादन बिक्रीका लागि त्यहाँ लैजाने गरेको उहाँले बताउनुभयो ।

“यस वर्ष पनि तीन विदेशीले काम सिकेर सातु, अचारलगायत प्याकेजिङ गरी बिक्रीका लागि लगेका छन्”, उहाँले भन्नुभयो । जर्मनी, क्यानडा, चीन, अमेरिका, भारतलगायत मुलुकबाट उद्योगमा काम सिक्न र अध्ययनका लागि आउने गरेका छन् । हालसम्म उहाँले क्यानडा, अष्ट्रेलिया र अमेरिकामा सातु व्यावसायिकरूपमै पठाउनुभएको छ । स्थानीय र विदेशी बजारमा एउटै मूल्यमा सातु बिक्री हुने गरेको छ । “फरक मूल्य राखेको छैन”, भुसालले भन्नुभयो, “बजारमा स्थापित हुन एउटै मुल्य राखेको हुँ ।” उहाँले प्रतिकिलो रु चार सय मूल्य राख्नुभएको छ ।

उद्यमी भुसालले गाउँकै किसानले उत्पादन गरेको मकै, भटमास, फापर, केराउलगायत मिश्रणबाट पोसिलो खाजा उत्पादन सुरु गरेको पाँच वर्ष भएको छ । उहाँले उत्पादन गरेको सातु सुरुका दुई वर्ष जिल्लाका विभिन्न खाद्य पसल, हुँदै विगत तीन वर्षयता देशबाहिर निर्यात हुन थालेको हो । उहाँले मुडिकुवामा २२ वर्षदेखि पर्वत खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आउनुभएको छ । अहिले उद्योगले लप्सी, अमला, बेसार, अदुवा, मकै, फापर, कोदो, गहुँ, भटमासलगायतबाट दुई दर्जन बढी परिकार उत्पादन गर्दै आएको छ ।

अग्र्यानिक उत्पादनसँगै त्यस्तै अनाजबाट उत्पादित खाजाको माग भइरहेकाले सातु बनाएर बिक्री गर्न थालेको भुसालले बताउनुभयो । गाउँमा माग नभए पनि बजार र वैदेशिक रोजगारीमा जानेले यस्तो परिकारको माग गर्ने गरेका उहाँको भनाइ छ । “गाउँमा सुरु–सुरुमा यस्तो सातु घरघरै हुन्छ, के तमासा गरेको भनेर पनि जिस्क्याए”, उहाँले भन्नुभयो, “मैले बनाउन छोडिन, अहिले विस्तारै बजार क्षेत्र र गाउँमा पनि खोज्न थालेका छन् ।” गत वर्ष एक टन सातु विदेश निर्यात गरेको उहाँको भनाइ छ ।

भुसालले यस वर्ष झन्डै पाँच टन सातु उत्पादन गर्ने तयारी गर्नुभएको छ । गाउँमै सञ्चालित उद्योगमा मकै, गहुँ, भटमास, चनालगायतका उत्पादनले उचित मूल्य पाउन थालेपछि किसान दङ्ग छन् । “अहिले मकैको मूल्य राम्रै छ”, फलेवास–६ की चन्द्रकला भुसालले भन्नुभयो, “मुडिकुवामा सातु उद्योग खुलेपछि हामीले मकैको ग्रेडिङ गरेर बिक्री गर्न थालेका छौँ ।” गाउँमा प्रतिपाथी रु एक सयमा बिक्री नहुने मकै हाल रु एक सय ५० देखि रु दुई सयमा बिक्री हुने गरेको छ । सातुमा उपयोग हुने चना, काजु, बदामलगायत केही अन्न भने जिल्लाबाहिरबाट मगाउनुपरेको भुसालले बताउनुभयो ।

भुसाललाई सातु बनाउने मेसिन गण्डकी प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको हो । उहाँले उत्पादन गरेको सातु हाल नजिकको कुश्मा बजारमा खाद्य पसल, पर्वत अस्पतालमा सञ्चालित पोषणगृह तथा पोखरालगायत बजारमा समेत माग भइरहेको छ । गाउँघरमा उत्पादित अग्र्यानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले उद्योगमा उत्पादित सातु स्वास्थ्यका लागि पनि लाभदायक हुने स्वास्थ्यकर्मी बताउँछन् । मकै, भटमासलगायतका परिकारबाट बनेको हुनाले ग्यास्ट्रिक, अम्लियपन हुने, अपच हुनेलगायतको समस्या समाधान मात्रै नभएर पौष्टिकतामा समेत सातु उत्कृष्ट परिकार भएको फलेवासका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटा बताउनुहुन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?