लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि

नेपालगञ्ज:बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् ।

कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी फूलको सङ्ख्या बढाएर किसानले उत्पादनमा फाइदा लिने विधि ‘थ्री जी कटिङ’ प्रविधि भएको जानकारी दिँदै अध्ययन गरेका अगुवा किसान यस प्रविधिमा आकर्षित भएको बताउनुभयो । “अधिकांश अगुवा किसानले यस्तो प्रविधिमा चासो दिनुभएको छ”, उहाँले भन्नुभयो ।

वागवानी अधिकृत यादवले किसानले प्रयोग गर्ने मल, सिँचाइको प्रबन्ध र कीटनाशक औषधिको प्रयोगका आधारमा ६ देखि १० गुणा बढी उत्पादन लिन सकिनेमा जोड दिँदै लहरे बालीको पुस्तान्तरणबाट किसानले उत्पादनमा वृद्धि गर्न सक्ने उल्लेख गर्नुभयो ।

जिल्लाको डुडुवा गाउँपालिका–४ र ५, खजुरा गाउँपालिकाका केही वार्डमा यो प्रविधिबाट किसानले लाभ लिएका छन् । उहाँ भन्नुहुन्छ, “बाँकेमा लहरे तरकारी बालीमा यसलाई नयाँ प्रविधि मानिएको छ ।” यादवले टमाटरमा सबैभन्दा पहिले सो प्रविधि बाँकेमा अपनाइएको उल्लेख गर्दै जिल्लामा करिब चार वर्षदेखि किसानले अभ्यास गरेको बताउनुभयो ।

खजुरका किसान पदम रानाले अहिले लौकामा यो प्रविधि अपनाइएको उल्लेख गर्दै सो प्रविधि प्रभावकारी भएको अनुभव सुनाउनुभयो । उहाँले उत्पादन बढाउन मल र सिँचाइको व्यवस्थापनसँगै फल समयमा नै टिप्न आग्रह गर्दै एउटै लौकाको पातबाट तीन फल लाग्ने जानकारी दिनुभयो । “जनसङ्ख्या बढाउन सकिन्छ तर व्यवस्थापनमा पनि गम्भीर हुनुपर्छ”, किसान रानाले भन्नुभयो । यो प्रविधिबाट तरकारीको उत्पादन १० गुणासम्म बढी हुन सक्ने बताइएको छ । बिरुवाको तेस्रो पुस्ताको हाँगामा फल फलाउने विधिलाई ‘थ्री जी कटिङ’ प्रविधि मानिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?