हामीले फ्याँक्ने फर्सीको बियाँ किलोको हजार ! परम्परागत खाजा संरक्षणमा जुटेकी कल्पना मिसको कथा
काठमाडौं – शहरका गल्लीदेखि विद्यालयका क्यान्टिनसम्म जंकफुडको साम्राज्य चलिरहेको बेला, एक शिक्षिका भने हाम्रो भान्साबाट हराइसकेको मौलिक स्वादको दियो बालिरहेकी छिन्। उनी हुन् कल्पना शर्मा, जसले आफ्नो शिक्षण पेशासँगै ‘नमस्ते कोशेली’ मार्फत परम्परागत नेपाली खाजालाई पुनर्जीवन दिने अभियान चलाएकी छिन्।
“यो केवल पैसा कमाउने माध्यम होइन, हाम्रो परम्परालाई वर्तमानसँग जोड्ने एउटा अभियान हो,” कल्पनाले भावुक हुँदै भनिन्। उनी हरेक दिन कक्षाकोठामा बालबालिकालाई पढाउँछिन्, तर उनको चिन्ता कक्षाकोठा बाहिर पनि फैलिएको छ। “अहिलेका नानीबाबुलाई दूध डेरीबाट र चामल पसलबाट आउँछ भन्ने थाहा छ, तर त्योभन्दा परको ज्ञान उनीहरुमा छैन। उनीहरुलाई आफ्नो माटोको स्वाद चखाउनु र स्वस्थ बनाउनु मेरो पनि कर्तव्य हो,” उनले भनिन्।
उनको यो अभियानको केन्द्रमा छ, ‘सिराउला खट्टे’। गाउँको खेतमा फलेको धानबाट तयार पारिएको सिराउला, जसलाई भुटेर तयार पारिन्छ। यो खाजाले पुराना पुस्तालाई बालापनको याद दिलाउँछ भने नयाँ पुस्ताका लागि स्वस्थ र स्वादिलो विकल्प बनेको छ।
तर सबैभन्दा मार्मिक त फर्सीको बियाँको कथा छ। हामीले तरकारी बनाएपछि काम नलाग्ने ठानेर फ्याँकिदिने त्यही फर्सीको बियाँलाई उनले जतनले सुकाएर, भुटेर बिक्रीमा राखेकी छिन्। “जसलाई हामीले फोहोर सम्झियौं, त्यो त स्वास्थ्यको खजाना रहेछ। यसको मूल्य प्रतिकिलो १००० रुपैयाँ पर्छ,” उनी मुस्कुराउँदै भन्छिन्, “हामीले फ्याँकिरहेका चिजमा कति ठूलो मूल्य र स्वास्थ्य लुकेको छ भन्ने यो एउटा उदाहरण हो।”
उनको स्टलमा सिराउला र फर्सीको बियाँ मात्र होइन, गहुँको खट्टे, भटमास र बदाम जस्ता पोषिला खानेकुरा पनि छन्। यी सबै उत्पादन विषादीरहित र प्राकृतिक हुन्। “जंकफुडले हाम्रा बालबालिकाको दाँत कमजोर बनायो, चपाउने बानी हरायो। तर सिराउला जस्ता खाजाले दाँतको व्यायाम पनि गराउँछ, स्वास्थ्य पनि बनाउँछ,” कल्पना थप्छिन्।
आज जहाँ हरेक कुरा तुरुन्त र सजिलै पाइन्छ, त्यहाँ कल्पनाजस्ता मानिसहरूले हाम्रो मौलिकता र स्वास्थ्यको महत्व सम्झाइरहेका छन्। उनको यो सानो स्टलले केवल खाजा बेचिरहेको छैन, यसले एउटा पुस्तालाई आफ्नो जरातिर फर्किन र स्वस्थ जीवनको महत्व बुझ्न मौन आग्रह गरिरहेको छ।

