दरबारमार्ग र धापासीपछि अब कमलादीको पालो: रैथाने एग्री प्रडक्टस्ले काठमाडौँको मुटुमा ल्याउँदैछ रैथाने खाना र संस्कृतिको महाकुम्भ

काठमाडौँ ।नेपालको उच्च पहाडी भेगमा उत्पादित परम्परागत, जैविक र पौष्टिक कृषि उपजहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको कमलादीस्थित आइटी प्लाजामा ‘रैथाने कृषि हाटबजार’ सञ्चालनमा आउने भएको छ । “गाउँको उत्पादन शहरमा, रैथाने खाना घरघरमा” भन्ने मुख्य नाराका साथ आगामी जेष्ठ २ गते शनिबारदेखि यो हाटबजार विधिवत् रूपमा सुरु हुन लागेको हो ।

रैथाने एग्री प्रडक्टस् नेपालको आयोजनामा सञ्चालन हुन लागेको यस हाटबजारले किसान र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गराउने लक्ष्य राखेको छ । संस्थाका अध्यक्ष तिलक ढकालका अनुसार यस हाटबजारमा करिब ४० जना किसानहरूका छुट्टाछुट्टै स्टलहरू रहनेछन् । जहाँ उपभोक्ताले रासायनिक मल र विषादीरहित पूर्णतः जैविक कृषि उत्पादनहरू सिधै किसानबाटै सुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।

विगतको अनुभव र विस्तार

रैथाने एग्री प्रडक्टस् नेपालले यसअघि पनि काठमाडौँका विभिन्न स्थानमा यस्ता हाटबजारहरू सफलतापूर्वक सञ्चालन गर्दै आएको छ । केही समयअघि दरबारमार्गस्थित ओरिएन्ट क्याफेबाट सुरु भएको यो अभियान अहिले प्रत्येक शुक्रबार धापासीमा ‘सन्ध्याकालीन हाटबजार’को रूपमा समेत निरन्तर चलिरहेको छ । सोही अभियानलाई थप विस्तार गर्दै अब कमलादीमा प्रत्येक शनिबार बिहानको समयमा हाटबजार सञ्चालन गर्न लागिएको अध्यक्ष ढकालले जानकारी दिए ।

रैथाने स्वाद र परिकारको आकर्षण

कमलादीमा हुने हाटबजारमा ताजा तरकारी र खाद्यान्न मात्र नभई रैथाने स्वादका विभिन्न परिकारहरूको समेत आनन्द लिन पाइनेछ । विशेषगरी सिस्नोको सुप, सिस्नोको म:म:, ताइचिन चामलको सेलरोटी लगायतका स्वास्थ्यवर्द्धक र मौलिक नेपाली स्वादका परिकारहरू यस हाटबजारका मुख्य आकर्षण रहनेछन् ।

यो हाटबजार प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म कमलादीस्थित आइटी प्लाजाको प्राङ्गणमा सञ्चालन हुनेछ । ‘डिप रिजेनेरेटिभ एग्रिकल्चर’ प्रणालीमा आधारित कृषि उपजहरूको संरक्षण र बजारीकरणका लागि यो एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने आयोजकको विश्वास छ ।

यस कार्यमा हिमालय मल्टि केयर प्रा.लि., आइटी प्लाजा, एस बि डेरी र डिजिटल ग्रीन नेपालले सहकार्य गरेका छन् भने मिडिया पार्टनरको रूपमा रैथाने रिसर्च सेन्टर र कृषि सूचना रहेका छन् । शुद्ध, स्वस्थ र पोषिलो रैथाने उपजहरूको खोजीमा रहेका काठमाडौँबासीहरूका लागि यो हाटबजार एक उत्कृष्ट गन्तव्य बन्ने देखिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?