पाखो डाँडामा लटरम्म टमाटर, ढुवानी नहुँदा कृषक चिन्तित

पाल्पा – पाल्पा सदरमुकाम तानसेनदेखी ४१ किलोमिटर पूर्व पूर्वखोला गाउँपालिका–६, हेक्लाङको खुमडाँडामा आदिवासी जनजाती मगर समुदायको बस्ति छ। यहाँका अधिकांश घरका युवा विदेशमा छन्। स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारले युवालाई गाउँमै रोक्न सामूहिक कृषिलाई अगाडि बढाएको छ।

गाउँको मध्यभागमा अग्लो डाँडामा रहेका बारीमा लटरम्म टमाटर फलेका छन्। काउली, बन्दा, खुर्सानी जस्ता तरकारीको व्यवसायीक सुरुवात गरिएको छ। कच्ची सडक अवरुद्ध हुँदा यहाँको उत्पादन सहज रुपमा बजारसम्म पुग्न सकेको छैन। २० रोपनी जग्गामा हेक्लाङका २७ घरले सामूहिक तरकारी खेती सुरु गरे। विदेशीएका युवा गाउँमै कृषि कार्यमा लागिपरेका छन्। अहिले खुमडाँडाको छिमेकी पनेर्दी गाउँमा पनि तरकारी खेती हुन्छ। तर, कच्ची सडक पटकपटक अवरुद्ध हुँदा तरकारीले बजारभाग समेत पाउन सकेको छैन।

गाउँमा खेर गइरहेको जग्गामा पानीको व्यवस्थापन गरी २७ घरधुरी मिलेर तरकारी खेती सुरु गरेको समूहका अध्यक्ष जीतबहादुर रानाले बताए। ‘सिंगापुर, मलेसिया देशमा मैले तरकारी खेतीमा काम गर्ने अवसर पाएको थिएँ। स्वदेश फर्केर सोही अनुभव गाउँमा प्रयोग गर्न थालेको हुँ, रानाले भने, ‘गाउँलेहरू धेरै मात्रामा तरकारी खेतीको विश्वास पनि गर्नुहुन्न। तर अब हामी सफल हुँदै छौं।’ जीतबहादुरले २००१ मा मलेसियामा कृषिमा काम गरेका थिए। त्यसपछि सिंगापुर गएर पनि धेरै परिश्रमको काम गरेर फर्केका युवा हुन् उनी। उनले आफुले विदेशका असम्भव ठाउँमा सबै कुरा सम्भव बनाएको देखेपछि पाखो बारीमा पनि सुन फलाउन सकिने भन्दै तरकारी खेतीमा होमीएको बताए।

‘सामूहिक रुपमा गाउँमा तरकारी उत्पादन प्रशस्त भएको छ,’ अगुवा कृषक जितबहादुर रानाले भने, ‘यसलाई समयमै बजारसम्म पुर्याउन नसक्दा भाउ राम्रो पाएको छैन। उत्पादन बिक्री नभएर समस्या हुने गरेको छ।’ अहिले बारीमा ४० क्विन्टलभन्दा बढी टमाटर छ। खुमडाँडाबाट आर्यभञ्ज्याङ–रामपुर सडक ६ किलोमिटर टाढा छ। त्यसपछि सिद्धार्थ राजमार्गसम्म लैजान १६ किलोमिटर पर्छ। तर, वर्षाले कच्ची सडकमा यातायातको असुविधा परेको छ। कानुङ खुमडाँडा कृषक समूहले गत वर्ष पाँच लाखको बन्दा बिक्री गरेको जनाएको छ। झण्डै १० लाख पर्ने टमाटर उत्पादन भइरहेको छ।

सिजनमा मकै र तोरी खेती हुने बारीमा तरकारी खेती हुन थालेपछि काम गर्ने गाउँले आँफै दङ्ग परेका छन्। यस्तो डाँडाको बारीमा यसरी तरकारी खेती हुन्छ भन्ने लागेको थिएन। तर अहिले देख्दा हामी आँफै अचम्ममा छौं। गरे जे हुँदो रहेछ, स्थानीय हरीबहादुर बाह्रघरेले भने, ‘मैले घरमा पनि विभिन्न जातका तरकारीबाली लगाएको छु। गाउँमा व्यवसायीकरण भएको छ। सडकको असुविधाका कारण केही समस्या छन्।

कानूङ्ग समूहले गाउँमै थोरैमात्रामा मकै खेती हुने जग्गामा तरकारी खेती सुरु गरेका छन्। मोटरबाटो र पानी पुर्याएका छन्। स्थानीय रम्भा राना भन्छिन्, गाउँलेको श्रमदानबाट तरकारी खेती सुरु गरेका हौ, अहिले तरकारी उत्पादन भइरहेको छ। बेरोजगार गाउँलेलाई अहिले फुर्सद नै छैन। सामूहिक तरकारी खेतीका लागि पूर्वखोला गाउँपालिकाको कृषि शाखाले प्राविधिक सेवा दिएको छ। पूर्वखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मनबहादुर सारुले डाँडामा तरकारी खेती नेपालकै नमूनाका रुपमा विकास गर्ने योजना रहेको बताए। उनी भन्छन्, ‘उच्च पहाडी क्षेत्रमा युवाहरूको साथले गाउँमा कृषिमा क्रान्ति हुने देखिएको छ।

हामी यसलाई बिस्तार गरेर वडाको सम्पूर्ण क्षेत्रमा व्यावसायिक कृषि कार्यमा युवालाई लगाई वैदेशिक रोजगारमा जानका लागि न्यूनिकरण गर्छौं।’ बन्दा, फूलगोभी, गोलभेडा, सिमीलगायत तरकारी खुमडाँडाका कृषकले उत्पादन गरेका छन्। ‘तरकारी धेरै उत्पादन भएपछि बजारसम्म लैजान सडक र साधनको अभाव छ,’ उनले भने, ‘यसको व्यवस्थापनमा सहयोग कतैबाट हुन सक्यो भने हामीलाई थप उत्साह हुने थियो।’ अहिले बारीभरी गोलभेडा पाकेको छ। गाउँमा कसैको पनि पिकअप गाडी छैन। बाहिरबाट मगाएर लैजान सडकको स्तरोन्नति नभएकाले अप्ठ्यारो छ, सारुले भने।

समूहले उत्पादन भएको गोलभेडा रामपुर, सिलुवा, जबगादी, आर्यभञ्ज्याङ, बुटवल र पोखरासम्म पुर्याउन सकिने सम्भावना रहेको छ। गाउँपालिका अध्यक्ष नूनबहादु सारु भन्छन्, ‘गाउँपालिकाले ६ वटै वडामा कृषि तथा पशुपालनका क्षेत्रमा भएको गतिविधि र योजनाका विषयमा अध्ययन गरिरहेको छ, कार्ययोजना बनाएपछि समूहलाई के कस्ता सहयोग गर्ने भन्ने निर्णय हुन्छ।’ प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले कृषक समूहले चाहेमा सवारी साधन किन्नलाई ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था रहेको बताए। ‘समूहले निर्णय गरेर वडा र गाउँपालिका हुँदै निवेदन दिनुपर्छ,’ उनले भने, ‘ढुवानीका लागि सवारी साधनको व्यवस्था त्यसरी गर्न सकिन्छ।

nagariknews.nagariknetwork.com

Leave a Reply

Your email address will not be published.