खाद्यान्न ढुवानीमा खच्चडकै भर

धादिङ – चाडपर्व नजिकिँदै गर्दा रुविभ्यालीस्थित सेर्तुङका मानसिंह तामाङ खच्चडलाई खाद्यान्न सामग्री बोकाएर उकालो लाग्दै छन् । चामल, तेल, नुनलगायत खाद्यान्न सामग्री खच्चडको दायाँ र बायाँ कुममा बोकाएर उकालो, ओरालो गर्नु तामाङको दैनिकी बनेको छ।

‘चाडपर्व आउन लाग्यो, खाद्यान्न लैजान गाउँमा गाडी जाँदैन, खच्चडको भर पर्नुपर्छ,’ तामाङले भने, ‘सडक नपुगेपछि पुस्तौदेखि नै खच्चडमै खाद्यान्न सामग्री ओसार्ने गरेका छौं ।’ सामान लिन ओर्लदा उनी गाउँमै उत्पादन भएको आलु, मकै लगायत सामान ल्याउने गर्छन् भने फर्कदा चामल, नुन, तेल लगायत खाद्यान्न सामग्री बोकेर लैजाने गरेका छन्।

सडक सञ्जालसँग नजोडिँदा उत्तरका बस्तीमा अझै पनि खाद्यान्न ढुवानीका लागि खच्चडकै प्रयोग हुने गरेको छ । सडक सञ्जाल पुग्न नसकेको र वर्षाले सडक बिग्रिएका कारण सामान ढुवानीका लागि खच्चड प्रयोग गर्नुपर्ने बाध्यता छ । यसरी सामान ढुवानी गर्दा प्रतिकिलो १० देखि २५ रुपैयाँसम्म पर्ने गर्छ । उत्तरी धादिङमा रहेका करिब चार सय खच्चड सामान दुवानीका लागि प्रयोग गरिन्छन् । धादिङबेसीदेखि दार्खाको डुन्डुरेसम्म गाडीले सामान पु-याउने गर्छ भने त्यसपछिका ठाउँमा खच्चडबाट ढुवानी गरिन्छ।

सडक सञ्जाल नपुग्दा जिल्लाको लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ, रि लगायत ठाउँमा अझै पनि खच्चडले सामान बोकेर लैजाने गर्छन् । सडक सञ्जाल पुगेको ठाउँमा पनि वर्षाले सडक भत्किएपछि सवारीसाधन चल्न सकेको छैन । दसैं, तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा खाद्यान्न ढुवानीको विकल्पमा खच्चडको भर पर्नुपरेको तामाङले बताए । ‘सडक नपुग्दा पुस्तौदेखि खच्चडबाट नै सामान ओसार्दै आइरहेका छौं,’ तामाङले भने, ‘खाद्यान्न ढुवानीको विकल्पमा कि त स्थानीय आफैंले बोकेर लैजानु पर्ने हुन्छ, कि खच्चडकै भर पर्नुपर्ने हुन्छ ।’ हिउँदमा बाटो सुचारु भएपनि बर्खामा भने सडक भासिने र बिग्रिने कारणले खच्चडकै विकल्प रोज्नुपर्छ।

तिप्लिङका नरेस तामाङ खच्चड धपाएरै दैनिकी कटाउने गर्छन् । उनी १२ वटा खच्चडलाई गरुंगो भारी बोकाएर उकालो लाग्ने गर्छन् । उकालो, ओरालो, भीर, पाखामा खच्चडबाट सामान बोकेर दैनिकी गुजार्ने गरेको तामाङले बताए । बर्खाभरी सामान ओेसार्न नपाएको उनले बताए । ‘चाडपर्वमा घरमा आफन्तजन आउने गर्छन्, दुई छाक मिठो खुवाउनै प-यो,’ तामाङले भने, ‘खाद्यान्न लैजान गाउँमा गाडी जाँदैन, मान्छेले बोकेर कति दिन खानु, खच्चडकै भर पर्नुपर्छ ।’ सामान नओसारे खाने कुराको ठेगान नहुने भएकाले पनि विकल्पमा खच्चड धपाउनु परेको उनले बताए।

जिल्लाको रुविभ्याली जानका लागि नुवाकोट र रसुवा हुँदै जानुपर्ने हुन्छ भने अर्को सांकोष तिप्लिङ सडक खण्ड पार गर्दै जानुपर्छ । रसुवाको सोम्दाङ, तिप्लिङसम्म बाटो पुगेको भए पनि बर्खाले बाटो बिगारेपछि सडक ठप्प छ । तिप्लिङबाट त्यहाँ उत्पादन भएको आलु, मकै सोम्दाङसम्म खच्चडले पु-याउँछ । सोम्दाङबाट तिप्लिङसम्म बालुवा, सिमेन्ट र खाद्यान्न सामग्री बोकाएर ल्याउने गर्छ । यता जिल्लाको खनियाबास गाउँपालिकास्थित दार्खाको डुन्डुरेसम्म गाडी पुग्ने गर्छ, त्यहाँबाट खच्चडले सामान ओसार्ने गरेको छ । उकालो, ओरालो, भीरको बाटो हिड्नुपर्ने हुन्छ, कतिपय ठाउँमा भीरमा खच्चड खसेर मर्ने गरेको उनले बताए।

बर्खाले गाडी हिँड्ने बाटो मात्र होइन खच्चड हिँड्ने बाटोसमेत बिगारेको छ । कतिपय ठाउँमा पहिरो गएको छ भने कतिपय ठाउँमा बाटो भाँसिएर हिड्न नमिल्ने भएको छ । बाटो बिग्रिएका कारण दसैं, तिहार लगायत चाडपर्वका लागि सामान लैजान कठिन भएको तामाङले बताए । ‘बर्खाले बिगारेको बाटो अझै पनि बनेको छैन, खच्चडमा खाद्यान्न नल्याए, खाने अन्न छैन,’ तामाङले भने, ‘दसैं आउन लाग्यो, खाद्यान्न लैजान गाउँमा गाडी जाँदैन, खच्चडको भर पर्नुपर्छ, खच्चडको दायाँबायाँ खाद्यान्न सामग्री ढुवानी नगरे खाने अन्नसमेत हुँदैन।’

बर्खाले सडक बिगारेपछि धादिङबेसीबाट ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न सकेको छैन । हिउँदमा यात्रु तथा सामान ओसारपसार गर्ने सडक बर्खाले हिलाम्मे बनाएको थियो । अहिले बाटो ओभानो हुँदै गए पनि खाल्डाखुल्डी र भाँसिएको बाटो नबन्दा आवातजावतमा समस्या भएको छ । चाडपर्व नजिकिँदै गर्दा सडक पुगेका ठाउँमा पनि खाद्यान्न सामग्री लैजान कठिनाइ भएको छ । यसले हिउँदमा लगेका सामान बर्खाभरीलाई पु-याउनुपर्ने बाध्यता छ।

nagariknews.nagariknetwork.com

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments