मकै सुपरजोनमै छैन मकै

दाङ, दाङ पिपरखुरीका भीमा केसीले चार कठ्ठामा मकै रोप्नु भएको थियो तर घोगामा एउटा पनि दाना नलागेपछि हिउँदे मकै रोप्न छाड्नु भएको छ । मकै हिउँदे, वसन्ते र वर्षे गरी तीन सिजनमा उत्पादन हुन्छ तर त्यहाँका किसान वर्षे मकै मात्र उत्पादन गर्छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले त्यहाँ मकै सुपरजोन नै सञ्चालन गरेको छ ।

सुपरजोनले मकै किसानलाई विभिन्न अनुदान तथा सहयोग दिनुका साथै औजारमा पनि सहुलियत दिएको दावी गरेको छ तर किसानले एक सिजन मात्र खेती गर्छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले पत्रकारसहित टोली लिएर सुपरजोन सञ्चालन गरेको क्षेत्रमा जाँदा मकै लगाएको कहीँ देखिएन । किसानले मकै खेतमा मसुरो, चना, गहुँ, आलु लगाएका थिए । खेतमा मकै लहलहाउने बेला हो तर मकैजोन भए पनि सुनसान देखिएको छ । किसान लीला अधिकारी भन्नुहुन्छ, ‘कात्तिकमा मकै छरेको थिएँ एउटा पनि दाना लागेन अनि काटेर फ्याँकिदिएँ । एक त जाडोको मौसम हो, अर्को बेलाबेलामा पानी परिदिन्छ त्यसले गर्दा दाना नलागेको होला ।

सुपरजोन अन्तर्गत सात हजार हेक्टरमा मकैखेती हुन्छ तर यो हिउँदे मकै मुस्किलले चार÷पाँच सय हेक्टरमा लगाउँछन्, सुपरजोनका वरिष्ठ कृषि अधिकृत महेश रेग्मी भन्नुहुन्छ ‘हावापानीले साथ नदिएको कारण हिउँदे मकैतिर किसानको आकर्षण कम भएको छ । यसको बारेमा सरकारले गम्भीर अध्ययन गर्न लगाउनुपर्छ । दुई वर्षदेखि सुपरजोनले यहाँ काम गरेको छ । उहाँ हिउँदे मकैप्रति किसानको आकर्षण बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार एक हेक्टर खेतमा हिउँदे मकै लगाउने किसानलाई सुपरजोनले १० हजार रुपियाँ दिने गरेको छ । वर्षे मकैमा पनि यो अनुदान दिइन्छ तर त्यसका लागि किसानले प्रत्येक वर्ष उत्पादनमा १० प्रतिशत वृद्धि गरेको हुनुपर्छ । उहाँले वर्षे मकैभन्दा हिउँदे मकैको माग धेरै रहेको बताउनुभयो । अधिकृत रेग्मी भन्नुहुन्छ ‘‘हिउँदे मकै दाना बनाउनमा मात्र काम लाग्छ, अन्य प्रयोजनमा प्रयोग हुँदैन, उत्पादन हुने वर्षे मकैको ३० प्रतिशत मात्र बिक्री हुने गरेको छ बाँकी ७० प्रतिशत मकै किसानले आफैँ उपभोग गर्छन् ।

गाई फार्म सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद पौडेलले वर्षे मकै उत्पादन गरे पनि बजार पाउन कठिन हुने भएकाले आफूले त्यतातिर लगानी नगरेको बताउनुहुन्छ । ‘वर्षे मकै ओसिलो हुन्छ, त्यसैले व्यापारीले खरिद गर्दैनन्’ उहाँले भन्नुभयो । हिउँदे मकै माग अत्यधिक छ किनकी यो मकैबाट कर्नफ्ल्याक्स, पपकर्न, चिजबल, बिस्कुटलगायत थुप्रै खानेकुरा तयार हुन्छ त्यसैले यो महँगोमा बिक्री हुन्छ । वर्षे मकै रोप्दा लगानी पनि नउठेको किसान चेतना अधिकारीले बताउनुभयो । उहाँले भन्नुहुन्छ ‘‘१० कठ्ठामा वर्षे मकै छर्छु अलिअलि बेच्छु वर्षभरि खान्छु बाँकी रहेका त्यतिकै कुहेर जान्छ अनि गाई, गोरुलाई खुवाउँछु । प्राविधिक सहयोग र हाइब्रिड बीउ पाएँ भने हिउँदे मकै रोप्छु । ’’ मकैको बीउ बिक्री–वितरण गर्दै आउनु भएका देवमणि चौधरीले वर्षे मकै बीउ प्रतिकेजी पाँच सयदेखि ६ सय रुपियाँमा बेच्ने गरेको तर हिउँदे मकैको बीउ भने प्रतिकेजी एक सय रुपियाँमा पनि मुस्किलले बिक्री हुने गुनासो गर्नुहुन्छ ।

मकै जोन सञ्चालन समितिका अध्यक्ष हुकुमबहादुर चौधरीले हिउँदे मकैको बीउको अभाव रहेकाले पनि यो खेतीमा समस्या हुने गरेको बताउनुभयो । नेपाली बीउको अभाव छ, भारतीय र चिनियाँ बीउमा किसान भर परेको उहाँले बताउनुभयो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले क्रस गराएर ‘प्यारेन्छ’ बीउ तयार गरिसकेका छन् तर त्यसमा क्रस गराएर एफ वन (बीउ) बनाउन सकेको छैन । बीउ बनाउने काम निजी क्षेत्रले गर्दै आएको छ तर हालसम्म प्रस्तावसमेत नआएको अधिकृत रेग्मीले बताउनुभयो । गोरखापत्र

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments