प्राङ्गारिक खेतीमा विज्ञको जोड

काठमाडौँ : विद्यमान विषादी खेती प्रणालीले जनस्वास्थ्यका साथै माटो, पानीलगायत पर्यावरणीय क्षेत्रमा प्रतिकूल असर पारेकाले प्राङगारिक खेतीमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

विश्व खाद्य दिवसको अवसरमा खाद्यका लाागि कृषि अभियान, राष्ट्रिय किसान समूह, अनाजलगायतका संस्थामा आबद्ध कृषि विज्ञहरुले राजधानीमा आज आयोजना गरेको ‘जैविक खेतीः खाद्य प्रणालीको पुनरजीवन’ विषयक अन्तरक्रिया कार्यक्रममा सो धारणा व्यक्त गरेका थिए।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा रामकृष्ण तिमल्सिनाले खेतीमा विषादीको प्रयोगबाट आम मानिसको स्वास्थ्यमा प्रतिकूल प्रभाव बढ्दै गएकाले प्राङ्गारिक खेती प्रणालीको विकास अपरिहार्य रहेको बताए। सरकार सम्बद्ध अधिकारीले द्धैध चरित्र देखाएका कारण नेपालमा प्राङ्गारिक खेती हुन नसकेको उनको आरोप थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीले तुलनात्मकरुपमा आधुनिक खाद्यन्नबाली भन्दा रैथाने सन्तुलित तथा स्वस्थकर हुने बताए । खाद्यका लागि कृषि अभियानकर्मी प्रमोद दाहालले अहिलको खेती प्रणालीमा रासायनिक विषादीको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमासमेत प्रभाव बढ्दै गएको जानकारी दिए । कृषि विभागका उपमहानिर्देक डा हरिबहादुर केसीले पूर्ण प्राङ्गारिक खेती प्रणालीले खाद्य सुरक्षा र खाद्य सम्प्रभुत्ता कायम हुन नसक्ने भन्दै दुवै खेती प्रणालीलाई अगाडि लैजानुपर्ने बताए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले उत्पादन बढाउनुपर्ने चुनौती रहेकाले रासायनिक मल र विषादी प्रयोग पूर्ण प्रतिबन्धभन्दा पनि क्रमिक रुपमा घटाउँदै लैजानुपर्ने बताए। राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले संविधानले खाद्य अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरे पनि उत्पादन प्रणालीबिना कार्यान्वयन सम्भव नहुने भन्दै उत्पादनमा जोड दिनुपर्ने बताए ।

किसान प्रतिनिधि माधव ढङ्गेलले पढेलेखेकाले नै नेपालको कृषि क्षेत्र ध्वस्त पारेको भन्दै नीति निर्माण तहमा बसेर उनीहरुले द्धैध चरित्र देखाएको आरोप लगाए ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले उन्नत खेती प्रणाली र जलवायु परिवर्तनको असर न्यूनीकरणबीच तालमेल सम्भव नहुने भन्दै प्राङ्गारिक कृषि प्रणालीबाट मात्रै जलवायु परिवर्तनको असर न्यूनीकरण हुनसक्ने जिकिर गरे । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?