जाँगर थप्दै किबी जोन

इलाम – अलैंची, अदुवा, अम्लिसो, अकबरे र चिया मात्र होइन, अब इलामलाई ‘किबीको जिल्ला’ पनि भनेर चिनाउने आधार तयार गरिँदैछ। सरकारले जिल्लामा किबी फलको व्यावसायिक खेतीका लागि १० खर्ब ३० अर्ब रुपैयाँको परियोजना जिल्लामा सञ्चालन गर्न लागेको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका १, २, ३ र ४ नम्बर वडालाई ‘किबी जोन’ घोषणा गरिएको छ। यो क्षेत्रमा किबीकै लागि १० वर्षे परियोजना सञ्चालन हुने भएको हो। किबीको प्राविधिक सीप, दक्षता, किबीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा यो रकम खर्च गरिँदै छ । किबीको बजारीकरण र स्थानीयस्तरमै प्रशोधनलाई पनि परियोजनाले समेट्ने छ।

जिल्लाका १५ हजार हाराहारी किसानले खेती गरिरहेको किबीको प्रवद्र्धनमा सरकारले समेत सहयोग गर्ने भएपछि किसान हर्षित छन्। सुरुमा उच्च मूल्यका बिक्री भएको किबीले अब बजार पाउने, गुणस्तरीय उत्पादन गर्न र स्थानीयस्तरमै प्रशोधन गर्न सकिनेमा किसान ढुक्क देखिँदैछन् । सरकारी सहयोगले किबी खेतीमा जाँगर थपेको किसान बताउँछन्।

किबीको पकेट क्षेत्रका लागि १० हेक्टर, किबी ब्लकलाई सय, किबी जोनलाई पाँच सय र किबीको सुपर जोन घोषणा गर्न एक हजार हेक्टर क्षेत्र निर्धारण गरिएको छ। परियोजनाका वरिष्ठ कृषि अधिकृत पर्शुराम राउतका अनुसार १० वर्ष चल्ने परियोजनाको ७० प्रतिशत रकम मेसिनरी र ३० प्रतिशत चालू खर्च हुनेछ । चालू वर्षभित्रै यहाँ कार्यालय राखेर परियोजनाको काम सुरु हुने राउतले बताए।

किबी जोनको क्षेत्र निर्धारणपछि सञ्चालक समिति गठन हुनेछ । केन्द्रीय तहबाट योजना तर्जुमाका लागि स्थानीय किसानसँग जिल्लामा छलफल भइसकेको सुलुबुङका अगुवा किबी किसान तारामणि खतिवडाले बताए । ‘किबी जोन कार्यक्रम लागू भएपछि इलामका मात्र होइन, अन्य जिल्लाका किसानले समेत फाइदा लिन सक्नेछन्,’ उनले भने, ‘किबी खेतीमा किसानको निकै उत्साह छ, अहिलेसम्म बिक्री पनि राम्रो छ तर यहीं प्रशोधन गरी नयाँ खाद्य परिकार उत्पादन गर्नसके किसानको लगानीमा दिगो आम्दानीको स्रोत बन्छ।’

खतिवडाले नै २०६५ सालमा जिल्लामा किबीको खेती भित्याएका थिए। उनकै खेती विस्तार हुँदै अहिले जिल्लाका सबैजसो गाउँमा किबी खेती पुगेको छ। ‘सुरुमा किबी फल प्रतिकिलो ६ सय रुपैयाँसम्म थियो अहिले एक सय रुपैयाँ छ,’ उनले भने, ‘तर, यो भाउ पनि अन्य फलको तुलनामा कम होइन, किबी जोन घोषणापछि किसान थप ढुक्क छन्।’ किबी खेतीबाट किसानको जीविका मात्र चलेको छैन। लाखौं रुपैयाँ आम्दानी पनि भइरहेको छ। किबीलाई नै व्यावसायिक बनाएर अन्य जिल्लामा यसको खेती विस्तार गर्न सघाउने किसान पनि इलाममै छन्। लेकाली भेगमा खेती हुने किबीले किसानलाई आम्दानीमा ठूलो राहत दिएको छ।

समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किबी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौं, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ। सुलुबुङका किसान खतिवडा, इलामकै साखेजुङका गंगाबहादुर विष्ट, माइमझुवाका पुरण गुरुङलगायतले किबी खेतीबाट छोटो समयमै उल्लेख्य आर्थिक प्रगति गरेका छन् ।
किसान विष्टले देशका विभिन्न जिल्लामा पुगेर किसानलाई किबी खेतीसम्बन्धी तालिम दिएका छन् भने नर्सरी विस्तार गरेर विभिन्न जिल्लामा वितरण गरेका छन्। नेपालमा ठूलो लाम्चो आकारको हेवार्ड, अलि सानो एलिसन, मन्टीलगायत जातका किबीको खेती गरिने खतिवडाले बताए । ‘सबैभन्दा राम्रो उत्पादन हुने र किसानले आम्दानी लिने जात चाहिँ हेवार्ड नै हो,’ उनले भने, ‘किबी ठूलो नै मीठो हुन्छ, त्यतिमात्र होइन, हेवार्ड जातको किबी चाहिँ राम्रो टिकाउ पनि हुन्छ।’ उनले नेपालको किबीको माग विदेशबाट पनि धेरै आउने गरेको बताए । ‘यहाँको किबी माग भएर पनि परिमाण थोरै भएकाले थोरै मूल्यमै बेच्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘बरु विदेशको किबी पो अहिले नेपाल आइरहेको छ।’

समयअघि नै टिपाइले गुणस्तर खस्किँदै

भौगोलिक उचाइअनुसार किबी टिप्ने सिजन फरक–फरक हुन्छ । तर, समय नपुग्दै किबी टिपेर बिक्री भइरहेकामा यसका जानकार चिन्तत छन्। किबीमा आवश्यक गुलियोपना नै नपुगी धमाधम टिपेर बिक्री भइरहेको छ।

साखेजुङका किसान गंगा विष्टले इलाममा अहिले किबी टिप्ने बेलै नभएको बताए। किबी बोटमै चाहिँ खान हुनेगरी पाक्दैन । केरालाई जस्तो किबीलाई पनि टिपेर केही दिन राखेपछि आफैं पाक्ने हुन्छ। ‘मंसिर नलागी टिपेको किबीको गुणस्तर राम्रो हुँदैन,’ विष्टले भने, ‘हतारिएर किबी टिप्दा मूल्य कम पाइने, बढी टिकाउ नहुनेजस्ता समस्या हुन्छन्।’

उनले आफ्नो बगानमा लगाएको किबी चाहिँ गुणस्तर परीक्षण गरेर मात्र टिप्ने गरेको बताए । ‘किबीमा ६ ब्रिक्स वा टिएस (गुलियोपना) भन्दा बढी अंक पुगेपछि मात्रै टिप्नुपर्छ,’ उनले भने, ‘यसरी टिपेको किबी चैतसम्म टिकाउन सकिन्छ।’ गुणस्तर नै नपुगेको किबी चाँडै सकिएपछि केही महिनापछि नै विदेशबाट ल्याउनुपर्ने बाध्यता देखिएको उनले बताए। किबीको गुलियोपना नाप्न ‘रिफ्रेक्ट्रोमिटर’ उपकरण प्रयोग गरिन्छ।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?