विदेशी प्याजको भर पर्नु अब छोडौँ: आफ्नै खेतबारीमा सुन फलाउने प्याज खेतीको सम्पूर्ण प्राविधिक विधि
नेपालमा हरेक वर्ष अर्बौँ रुपैयाँको प्याज आयात हुन्छ। कालीमाटी जस्ता प्रमुख तरकारी बजारहरूमा सधैँ भारतीय प्याजको मूल्य नै हाबी हुनुले हाम्रा किसानका लागि ठूलो व्यावसायिक अवसर रहेको स्पष्ट गर्छ। प्याज केवल भान्साको अनिवार्य मसाला मात्र होइन, यो एक महत्वपूर्ण नगदे बाली पनि हो। सही प्रविधि, भण्डारण क्षमताको विकास र व्यावसायिक सोच अपनाउने हो भने नेपाल प्याजमा आत्मनिर्भर बन्न सक्छ।
१. हावापानी र माटोको छनोट
प्याज चिसो मौसम वा हिउँदे बाली हो। विरुवाको प्रारम्भिक विकासको लागि कम तापक्रम र गानो लाग्न (Bulbing) को लागि केही बढी तापक्रमको आवश्यकता पर्दछ।
-
माटो: पानी नजम्ने, मलिलो, हलुका दोमट माटो प्याजका लागि उत्तम हुन्छ। माटोको pH मान ६.० देखि ६.८ को बीचमा हुनुपर्छ।
-
स्थान: घाम राम्ररी लाग्ने पारिलो जग्गा छनोट गर्नुपर्छ।
२. बाली लगाउने तरिका र जातहरू
नेपालमा प्रचलित प्याजका जातहरूमा रेड क्रियोल, पुसा रेड, नासिक रेड, नासिक ५३ र एग्री फाउण्ड डार्क रेड मुख्य हुन्। उच्च पहाडको लागि ‘रेड क्रियोल’ बढी उपयुक्त मानिन्छ। प्याज खेती तीन तरिकाले गर्न सकिन्छ:
-
सोझै छरेर: बीउ सिधै खेतमा छरेर।
-
बेर्ना सारेर: नर्सरीमा बेर्ना उमारी सार्ने।
-
सेट (सानो प्याज) बाट: विशेषगरी बेमौसमी खेतीका लागि सेटको प्रयोग गरिन्छ।
३. जग्गा तयारी र मलखाद व्यवस्थापन
प्याज गानो वाली भएकाले जग्गा तयारीमा विशेष ध्यान दिनुपर्छ। २५–३० से.मी. गहिराइसम्म माटोलाई मिहिन बनाउनुपर्छ।
-
मलखाद: प्रति रोपनी १०००–१५०० के.जी. गोबरमल, १०–१२ के.जी. नाइट्रोजन, ७–८ के.जी. फस्फोरस र ३–४ के.जी. पोटासियम आवश्यक पर्छ।
-
सूक्ष्म तत्व: प्याजमा जिंक र कपरको कमी देखिन सक्ने हुनाले प्रति रोपनी आधा के.जी. जिंक र १ के.जी. कपर प्रयोग गर्न सिफारिस गरिन्छ।
४. बाली व्यवस्थापन (गोडमेल र सिँचाइ)
-
सिँचाइ: मौसम र माटो हेरी ५–७ दिनको फरकमा सिँचाइ दिनुपर्छ। बिरुवा हुर्कने बेला १०–१२ पटकसम्म सिँचाइ आवश्यक पर्न सक्छ। प्याज उखेल्नु १५ दिन अगाडि सिँचाइ बन्द गर्नुपर्छ।
-
गोडमेल र झार नियन्त्रण: सिँचाइ बढी चाहिने भएकाले झारपात धेरै आउँछन्। वाली अवधिभर ४–५ पटक गोडमेल गर्नु आवश्यक छ। यसले माटोलाई खुकुलो बनाई गानो ठूलो हुन सघाउँछ।
५. रोग र कीराको जैविक व्यवस्थापन
रासायनिक विषादीको विकल्पमा जैविक उपायहरू अपनाउनु स्वास्थ्यका लागि हितकर हुन्छ:
-
रोग: प्याजको ‘बैजनी धब्बा’ (Purple Blotch) का लागि डायथिन एम–४५ र ‘डाउनी मिल्डयु’ (Downy Mildew) का लागि जिनेव प्रयोग गर्न सकिन्छ।
-
कीरा: थ्रिप्स, लाही जस्ता कीरा नियन्त्रण गर्न नीमको तेल, बोझो र गाईको गहुँतको मिश्रण स्प्रे गर्न सकिन्छ। बजारमा पाइने निममा आधारित जैविक विषादी पनि उत्तिकै प्रभावकारी हुन्छन्।
६. भण्डारण: आत्मनिर्भरताको मुख्य कडी
नेपालमा किसानले समयमै बजार नपाउने वा प्याज कुहिने समस्याको प्रमुख कारण ‘कोल्ड स्टोर’ वा उचित भण्डारणको अभाव हो।
-
क्युरिङ (Curing): प्याज खनिसकेपछि हावादार र छायाँदार ठाउँमा सुकाउनु पर्छ, जसले बाहिरी बोक्रा सुकाउँछ र भण्डारण अवधि बढाउँछ।
-
भण्डारण विधि: प्याजलाई सुख्खा, चिसो र हावाको राम्रो सञ्चार हुने ठाउँमा राख्नुपर्छ। स्थानीय स्तरमा खरको छानो भएको र हावा खेल्ने ठाउँमा जुटको बोरामा राखेर भण्डारण गर्न सकिन्छ।
-
टुसाउनबाट जोगाउने: खन्नु १५-२० दिन अगाडि मेलिक हाइड्राजाईडको प्रयोग गर्दा भण्डारणमा प्याज टुसाउने समस्या कम हुन्छ। साथै, अन्धकार र चिसो कोठामा भण्डारण गर्नु लाभदायी हुन्छ।
प्याज खेतीबाट प्रति रोपनी २०००–३००० के.जी. सम्म उत्पादन लिन सकिन्छ। विशेषगरी बेमौसममा ‘सेट’ प्रविधि अपनाएर हरियो प्याज र गानो उत्पादन गर्दा नाफा दोब्बर हुन सक्छ। सरकारले हरेक स्थानीय तहमा कोल्ड स्टोरको व्यवस्था गरिदिने हो भने आयात प्रतिस्थापन गर्दै नेपाली किसानले प्याजबाट मनग्य आम्दानी गर्न सक्छन्।
