विद्यार्थीको तरकारी बारीमै सड्दै

लम्की,टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् ।इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल गोलभँेडा निस्कन्छ । पकेट खर्च निकाल्न खेती गरेका विद्यार्थी निराश भएका छन् । ‘‘हामी विभिन्न तरकारी खेती गर्छौँ, यस वर्ष पनि गरेका थियौँ’’, विद्यार्थी कविता शाहीले भन्नुभयो, ‘‘गोलभेँडा त पूरै नष्ट हुने देखिएको छ । हिउँदमा गरिएको अन्य तरकारीले भने बजार पाएको थियो ।’’

वाली विज्ञानतर्फ डिप्लोमा तहका विद्यार्थीले इन्स्टिच्युट परिसरमा छ बिघा जमीनमा तरकारी खेती गर्ने गरेका छन् । ‘‘बाहिरी जिल्लाबाट टीकापुर पढ्न आएका विद्यार्थी खेतिपातीमा बढी सक्रिय छौँ’’, शाहीले भन्नुभयो, ‘‘तरकारी खेतीबाट भएको आम्दानीले हाम्रो पकेट खर्च चल्छ, खाजा खर्च घरबाट माग्न पर्दैन ।’’शिक्षालय प्रमुख टेकेन्द्र थापाले कामकाजी विद्यार्थीका लागि पोलिटेक्निकले विद्यार्थी कल्याण कोष स्थापना गरिदिएको बताउनुभयो । ‘‘कृषि कर्मका लागि विद्यार्थीलाई आवश्यक जग्गा, बीउ, मल र प्राविधिक सहयोग शिक्षालयले गरिदिन्छ’’, थापाले भन्नुभयो, ‘‘आम्दानीको ४० प्रतिशत शिक्षालयको खातामा जम्मा हुन्छ भने ६० प्रतिशत आम्दानी काममा संलग्न विद्यार्थीलाई दिइन्छ ।’’

इन्स्टिच्युट प्रमुख थापाले पोलिटेक्निक इन्स्टिच्युटमा बाहिरी जिल्लाका धेरै विद्यार्थी अध्ययनरत रहेकाले उनीहरुले फुर्सदमा गरेको तरकारी खेतीबाट आफ्नो खर्च निस्कने गरेको बताउनुभयो । ‘‘विद्यार्थीले अन्य तरकारी पनि लगाएका छन् । इन्स्टिच्युट हाताभित्र लटरम्म तरकारी फलेको छ’’, शिक्षालय प्रमुख थापाले भन्नुभयो, ‘‘यहाँ ६ विघा जमीनमा छुट्टाछुट्टै ६ वटा करेसाबारी छन् । यतिबेला करेसाबारीमा बन्दागोभी, करेला, बोडी, गोलभेँडा, खुर्सानी, काँक्रा, भिन्डीलगायतका तरकारी फलेका छन्, उत्पादित तरकारीले बजार पाउन सकेको छैन ।’’

विद्यार्थीको अधिकांश समय करेसाबारीमै बित्छ । उनीहरु कक्षा कोठाभन्दा बढी समय करेसाबारीमै बिताउँछन् । शिक्षालय प्रमुख थापाले विद्यार्थीले कक्षाकोठामा पढेभन्दा बढी लब्धाङ्क करेसाबारीको पाठ्यक्रमबाट प्राप्त गर्ने भएकाले पनि तरकारी खेती गरिएको बताउनुभयो ।‘‘ चालीस लब्धाङ्क सैद्धान्तिक र ६० लब्धाङ्क प्रयोगात्मकका आधारमा हुन्छ’’, प्रमुख थापाले भन्नुभयो, ‘‘‘पढेको भन्दा प्रयोगात्मकमा विद्यार्थीले धेरै सिक्छन्, तरकारी बिक्रीबाट उनीहरुको केही आम्दानी पनि हुन्छ ।’’विद्यार्थी सुष्मा विकले तरकारी बेचेको रकम पढाइ शुल्क तिर्नमा लगाउने गरेको बताउनुभयो । ‘‘केही बचेको रकम पकेट खर्च हुन्छ’’, विकले भन्नुभयो, ‘‘पढाइसँगै आम्दानीसमेत भइहेको छ । सानोतिनो खर्चका लागि अभिभावकसँग माग्नुपरेको छैन ।’’

टीकापुर पोलिटेक्निक इन्स्टिच्युट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा सञ्चालित संस्था हो । यसलाई सुदूरपश्चिम प्रदेशको नमूना प्राविधिक शिक्षालय बनाउने सरकारको योजना भए पनि पर्याप्त बजेटका अभावमा यसले थुप्रै समस्या व्यहोर्दै आएको छ । संस्था स्थापनाका लागि तत्कालीन टीकापुर विकास समितिले २५ बिघा जमीन निःशुल्क उपलब्ध गराएको हो । हाल सो जग्गामा केही भौतिक पूर्वाधार निर्माण भएका छन् । संस्थाले आइएस्सी एजी, बीएस्सी एजीका साथै २०७५ सालदेखि भेटेरिनरी र डिप्लोमा इन सिभिल इन्जिनियरिङको पढाइसमेत शुरु गरेको छ । प्रमुख थापाका अनुसार संस्थामार्फत विभिन्न सीपमूलक तालीमसमेत सञ्चालन भइरहेका छन् । ती तालीमबाट धेरै व्यक्तिले रोजगारी प्राप्त गरेका छन् । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?