एक मुरी अन्नबाट ५० हजारको छलाङ, लालमायाको बारीमा फल्दैछ सुन
रसुवा: लालमाया तामाङको बारीमा अहिले राता–राता अकबरे खुर्सानीका दाना हावामा झुल्दा, उहाँको अनुहारमा सन्तुष्टिको चमक देखिन्छ। कुनै बेला यही बारीमा फलेको एक मुरी कोदो बेच्दा मुस्किलले तीन हजार रुपैयाँ हात पर्ने लालमायाले आज त्यही जग्गाको एक पाटोबाटै ५० हजार रुपैयाँ आम्दानी गर्नुभएको छ। उहाँको लागि यो व्यावसायिक खुर्सानी खेती आम्दानीको स्रोत मात्र होइन, परिश्रमले जीवनमा ल्याएको सुनौलो बिहानी हो।
“पहिले यही बारीमा दिनरात खटेर कोदो-मकै लगाउँथ्यौं,” लालमाया विगत सम्झँदै भन्नुहुन्छ, “तर दुःखअनुसारको फल कहिल्यै मिलेन। एक मुरी अन्नको तीन हजारले घरखर्च चलाउनै धौ-धौ पर्थ्यो।” परम्परागत खेतीबाट निराश बन्दै गएकी लालमायाको जीवनमा तब नयाँ मोड आयो, जब उहाँले व्यावसायिक अकबरे खुर्सानी खेती गर्ने आँट गर्नुभयो।
गत वर्ष रोपेका खुर्सानीका बोटले अहिले बेमौसमा पनि लटरम्म फल दिइरहेका छन्। जिब्रो नै पोल्ने पिरो र मनै लोभ्याउने बास्नादार भएकाले उहाँको खुर्सानीको माग स्थानीय बजारदेखि काठमाडौंसम्म छ। “खुर्सानी टिप्न नपाउँदै बारीमै किन्न ग्राहक आइपुग्छन्,” उहाँ खुसी हुँदै सुनाउनुहुन्छ, “बारीमै प्रतिकिलो ३०० रुपैयाँमा बिक्री हुन्छ, काठमाडौं पठाउँदा ४०० रुपैयाँसम्म पाइन्छ। उत्पादन खेर जाला भन्ने चिन्तै छैन।”
गत वर्ष मात्रै उहाँले यही खुर्सानी बेचेर करिब ५० हजार रुपैयाँ आम्दानी गर्नुभयो। यो रकम उहाँको लागि सामान्य अंक मात्र होइन, यो उहाँको आत्मविश्वास र परिवारको खुसीको आधार हो। थोरै जमिनबाट यति राम्रो आम्दानी हुन थालेपछि उत्साहित लालमायाले यो वर्ष थप जमिनमा खुर्सानी खेती विस्तार गर्नुभएको छ।
लालमायाको यो सफलताको पछाडि उहाँको कडा परिश्रमका साथै स्थानीय सरकारको सहयोग पनि जोडिएको छ। उत्तरगया गाउँपालिकाले उहाँलाई अनुदानमा खुर्सानीका बिरुवा, मल्चिङ प्लास्टिक, पानी हाल्ने हजारी र ड्रम जस्ता अत्यावश्यक सामग्री उपलब्ध गराएको थियो। “गाउँपालिकाले बिरुवादेखि प्लास्टिकसम्म दिएपछि त झन् आँट आयो,” उहाँ भन्नुहुन्छ, “सानो सहयोगले पनि हामीजस्ता किसानलाई कति ठूलो हौसला मिल्ने रहेछ। ”
आज लालमाया तामाङ आफ्नो गाउँका लागि एक प्रेरणाको स्रोत बन्नुभएको छ।
