मखमली र सयपत्री फूल उत्पादन कम: बढ्यो कृत्रिम प्लास्टिक मालाको माग

सिमकोट: तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ। पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो। तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् ।

बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन्। यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महङ्गोमा आएको छ। आर्थिक अभावका कारण सामग्री किन्नलाई समस्या भएको गाउँबाट आएका महिलाको भनाइ छ ।

कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

जिल्लामा कृत्रिम फूलमालाको माग बढेको छ। यो वर्ष तिहार केही ढिला भएका कारण मखमली र सयपत्री फूल पाइन छाडेपछि बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो। जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुनुका साथै उत्पादन हुने गरे पनि यो समय अभाव भएपछि प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो ।

तिहारलाई लक्ष्य गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन्। सबैजसो पसल व्यवसायीले जिल्ला बाहिरबाट ल्याएका रङ्गीचङ्गी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखेका छन्। पूरै सिमकोट बजार मालाले सिङ्गारिएको छ भने व्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा माला सजाएर राखेका छन् ।

जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन्। तिहारमा माला सबैभन्दा बढी बिक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन्। प्रत्येक माला व्यापारीले न्यूनतम रु ५० देखि ३०० भन्दा माथिसम्म बिक्री गर्ने गरेका छन् ।

यसले गर्दा सिमकोट र खार्पुनाथ गाउँपालिकासहित बजारवासी गरेर यसको लाखौँको कारोबार हुने पुष्टि गरेको छ। अहिले सबैजसो बजारमा माला किन्नेको भीडभाड बढेको छ। जिल्लामा व्यवसायिक फूलखेती नभएको जनाइएकोे छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?