सिम खेतमै भएन रोपाइँ

पोखरा — गण्डकी प्रदेशमा सोमबारसम्म ७२ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १ लाख ९ हजार हेक्टर क्षेत्रमा धान खेती हुन्छ । सबै ठाउँमा सिँचाइ सुविधा नपुग्दा र यसपालि पर्याप्त वर्षा नभएकाले साउन पहिलो सातासम्म तीन चौथाइ क्षेत्रमा पनि रोपाइँ हुन नसकेको हो ।

निर्देशनालयका बाली विकास अधिकृत मिलन आचार्यले रोपाइँ गर्न पर्याप्त पानी नपरेकाले धानको बेर्ना छिप्पिएको बताए । कास्कीमा ८५ प्रतिशत रोपाइँ भएको छ । अकासे–पानी ढिला र राम्रो नपरेकाले रोपाइँ प्रभावित भएको हो । ‘कुलो लगाउने ठाउँमा रोपाइँ सकियो, सिँचाइ नहुने ठाउँमा पानीकै पर्खाइमा छौं,’ पोखरा १३ की इन्दिरादेवी आचार्यले भनिन्, ‘३० मध्ये १२ रोपनीमा रोपाइँ गर्न बाँकी छ ।’

पोखरा २३ धारापानीका कृषक विष्णु दाहालले मोटरले पानी तानेर रोपाइँ गरिएको बताए । ‘मौसमले साथ नदिएकाले जति रोप्नुपर्ने हो त्यति रोपाइँ भएको छैन,’ उनले भने । कास्कीको हेम्जा, अर्मला, भलाम, आर्वा, ठूलाखेत, बिरुवा, पामे, लेखनाथ, सिसुवा, प्रस्याङलगायत ठाउँमा धानखेती हुने गरेको छ । कास्कीमा विशेष गरी जेठोबूढो, गुर्दी, मन्सरा, पहेंलो, मन्सुली, खुमल धान रोपिन्छ । कास्कीमा २४ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।

मुल फुट्ने गरी पर्याप्त पानी नपर्दा म्याग्दीमा पनि धान रोपाइँ प्रभावित भएको छ । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा धान रोपाइँ हुन नसकेको हो । समुद्री सतहदेखि १२ सय मिटरमाथिका खेतमा असार २० भित्र धान रोप्नुपर्छ । त्यसपछि पानी चिसो हुने हुँदा धान खेती राम्रो हुँदैन । साउन पहिलो सातासम्म धान खेती आधा मात्रै भएको छ ।

पाइपबाट गरिने सिँचाइले धान खेती गर्न सजिलो भए पनि कुलो खनेर गरिने परम्परागत सिँचाइ प्रणाली नासिएपछि कुलोमुनिका सिमखेत र पानीका मूलहरू सुक्ने समस्या बढेको छ । ‘असार दोस्रो साताभित्रै रोप्नुपर्ने खेतमा अझै रोपाइँ भएको छैन । खानेपानीको धारा पुर्‍याउन मूलमा पाइप घुसारेर पानी लगिएकाले सिम खेतमै रोपाइँ भएको छैन,’ नीलगिरी कृषक समूह घारका सचिव श्यामप्रसाद खडकाले भने, ‘बसाइँसराइले आधा खेत बाँझा थिए, खडेरीले बाँकी पनि बाँझै हुने भए । सिँचाइ छैन, ‘अकासे–खेती दैवको भर भन्छन्’ हेरौं के हुन्छ ।’ सिँचाइ सुविधा भएको म्याग्दीखोला तटीय क्षेत्रमा भने रोपाइँ करिब ९० प्रतिशत सकिएको छ ।

‘अहिलेसम्म आधा बढी मात्र रोपाइँ भएको छ । बेनी नगर क्षेत्रमा ३८/४० प्रतिशत मात्र रोपाइँ भएको छ,’ कृषि ज्ञान केन्द्रका बागबानी अधिकृत भोजबहादुर थापाले भने, ‘जिल्लाको धानको भकारी भनिने रेत्नेचौरमै राम्रो रोपाइँ भएको छैन । खडेरीले राखु र घार क्षेत्रमा पनि रोपाइँ प्रभावित छ ।’

जिल्लाका अधिकांश खेतमा दर्माली, झिनुवा, मार्सी, ताकमारेजस्ता स्थानीय जातका धान रोपिन्छ । सदरमुकाम सेरोफेरो तथा मध्य क्षेत्रमा गौरिया, गुडुरा, पोखरेली जेठोबूढो र लुम्ले बास्मती तथा उपल्लो भेगमा माछापुच्छ्रे–३ र छोम्रोङ धान खेती गरिन्छ । कालीगण्डकी करिडोरको सबैभन्दा माथिल्लो क्षेत्रमा धान खेती गरिने बस्ती घार हो । यहाँ २ हजार २ सय मिटरसम्म धान खेती गरिन्छ ।

‘बाह्रै महिना मूल पलाउने सिम खेतमा पनि खडेरी लागेको छ । रोपोले पानी नपाउँदा सुक्न थालेको छ,’ बेनी–५ भीरमुनिका अमर बानियाँले भने, ‘माथिल्लो गरामा पानी तलाएर तल्लोमा रोपाइँ गर्दै जाँदा पानी बढी खर्च भए पनि रोपेको धानलाई सिँचाइ हुन्थ्यो । रोपेको खेतमा झार पलाएको छ ।’ जिल्लाको कुल खेतीयोग्य जमिनको ३ हजार ८ सय ९५ हेक्टर खेतमा धान खेती हुन्छ । धानखेती योग्य जमिनको २६ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा रहेको र बाँकी खेती अकासे–पानीको भरमा निर्भर छ ।

समयमा पानी नपर्दा बागलुङमा अझै २५ प्रतिशत रोपाइँ बाँकी छ । कृषि ज्ञान केन्द्र प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लाको ७ हजार ५ सय हेक्टर जमिनमा धान खेती हुन्छ । अघिल्ला वर्षको तुलनामा मनसुन कमजोर बन्दा पानी नपरेको रेग्मीले बताए । ‘जंगल फँडानी, सडक निर्माणले पहिरो जाँदा सिँचाइका कुला र नहर पुरिएर पनि रोपाइँमा समस्या परेको छ ।’ बागलुङ नगरको अमलाचौर, पैयुँपाटा, नारायणस्थान, रायडाँडालगायत गाउँमा रोपाइँ हुन बाँकी छ । त्यस्तै काठेखोला, बरेङ, बडिगाडलगायतका गाउँमा पनि रोपाइँ थोरै भएको छ । गलकोट नगरपालिकाको भने अधिकांश स्थानमा रोपाइँ भएको छ ।

अमलाचौरका सतीपोखरा, गिठे र गौदीका किसानले भने रोपाइँ गर्न नपाएर जनप्रतिनिधिलाई पनि गुनासो गर्न थालेका छन् । सिँचाइका लागि पाइप तथा खोल्साको पानी लिफ्ट गरेर लैजान सकेमा रोपाइँ गर्न सकिने उनीहरू बताउँछन् । ‘यतिबेला हरियाली हुनुपर्ने हो तर रोपाइँ गर्न नपाएर चिन्ता बढायो,’ अमलाचौरका कृष्ण अधिकारीले भने । किसानको गुनासो आए पनि केही गर्न नसकिएको बागलुङ नगरपालिका–१२ का अध्यक्ष गुरुदत्त पाठकले बताए । कास्कीमा सबैभन्दा धेरै ८५ र गोरखामा कम ४५ प्रतिशत मात्रै रोपाइँ भएको छ ।

प्रदेश १ मा ५६ प्रतिशत
विराटनगर– प्रदेश १ का १४ जिल्लामा मंगलबारसम्म ५६ प्रतिशत धान खेतमा मात्रै रोपाइँ भएको छ । असारको तेस्रो सातासम्म पानी र रासायनिक मलको अभावले धान रोपाइँले गति लिन सकेको थिएन । त्यसयता भारी वर्षा र डुबानका कारण रोपाइमा बाधा पुगेको हो ।

यो प्रदेशमा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा बर्खे धान रोपाइँ हुन्छ । प्रदेश कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकारी हृदय पोखरेलका अनुसार मंगलबारसम्म १ लाख ९३ हजार ३ सय हेक्टरमा रोपाइँ भएको छ । उनका अनुसार सबैभन्दा बढी ताप्लेजुङमा ७५ र कम ओखलढुंगामा ३५ प्रतिशत रोपाइँ भएको छ ।

ताप्लेजुङमा रोपाइँ हुने ८ हजार ७ सय ३७ हेक्टरको ७५ प्रतिशत, संखुवासभाको १३ हजार ८ सय ५१ हेक्टरमध्ये ६५, सोलुखुम्बुको १ हजार ५ सय २५ हेक्टरमध्ये ७०, पाँचथरको ९ हजार २ हेक्टरको ७०, इलामको १४ हजार ८ सय १५ मध्ये ५४, भोजपुरको १८ हजारमध्ये ६५, तेह्रथुमको १० हजार १ सय ७५ मध्ये ५५, धनकुटाको करिब ८ हजार हेक्टरमध्ये ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ ।

यस्तै उदयपुरको १३ हजार ४ सय हेक्टरको ५५ प्रतिशत, ओखलढुंगाको ४ हजार ४ सय हेक्टरमध्ये ३५, खोटाङको १२ हजार ९ सय हेक्टरमध्ये ६२ प्रतिशत रोपाइँ भएको छ । अन्नको भण्डार मानिने तराईको झापामा ८७ हजार ५ सय हेक्टरमध्ये ७०, मोरङको ८३ हजार ३ सय हेक्टरमध्ये ५० प्रतिशत र सुनसरीको ५५ हजार हेक्टरमध्ये मंगलबार सम्ममा ४० प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्यांक छ ।

पहाडी क्षेत्रका केही जिल्लामा अझै पनि पर्याप्त पानी नहुँदा धान रोपाइँले गति लिन सकेको छैन । प्रसार अधिकारी पोखरेलले भने, ‘तराईमा आएको बाढीले जमिन डुबानमा पर्दा द्रुत रूपमा रोपाइँ हुन पाएको छैन ।

पहाडी जिल्लाको माथिल्लो भेगमा धान रोपाइँ सिजन करिब अन्त्य नै भइसक्यो । तल्लो भेगमा साउन तेस्रो साता सम्म रोपाइँ हुन्छ ।’ तराईका जिल्लामा भदौ पहिलो सातासम्म धान रोप्ने चलन छ ।कान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?